देशभर मनसुन सक्रिय, कहाँ कहाँ छ भारीदेखि धेरै भारी वर्षाको सम्भावना

Thursday August 6, 2026

पढ्न लाग्ने समय :


देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू–भाग नजिक रहेकाले मौसम पूर्ण रूपमा बदली हुने र अधिकांश क्षेत्रमा वर्षा हुने अनुमान गरिएको छ।

आज बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा धेरै भारी वर्षा मापन भएको विभागले जनाएको छ।

विभागका अनुसार कास्कीको लुम्लेमा १२५.३ मिलिमिटर, गुल्मीको भर्सेमा १२३.६ मिलिमिटर, बागलुङको गलकोटमा ११७.४ मिलिमिटर, स्याङ्जाको डाँडास्वारामा १११ मिलिमिटर, नवलपरासीको परासीमा १०३ मिलिमिटर, नवलपुरको देउरालीमा १०९.८ मिलिमिटर, गोरखाको रइनसटारमा १०७.६ मिलिमिटर, पर्वतको श्रीकाङमा १०४.२ मिलिमिटर, कास्कीको घलेखर्कमा १०६ मिलिमिटर तथा लमजुङको गिलुङमा १०१.६ मिलिमिटर वर्षा मापन भएको छ। अन्य प्रदेशका विभिन्न स्थानमा पनि भारी वर्षा भएको विभागले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्र, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा वा हिमपात तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले नदी–नाला, बाढी, पहिरो र डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।


भर्खर

मुद्दा फर्छ्यौटमा देशमै उत्कृष्ट बनेका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिदाइ

कञ्चनपुर जिल्ला अदालतमा कार्यरत रहँदा मुद्दा फर्छ्यौटमा देशभरकै उत्कृष्ट प्रदर्शन गरेका तत्कालीन जिल्ला न्यायाधीश राजेन्द्रसिंह

देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्न सक्ने

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल

भारतबाट साइकलमा युरिया मल ल्याउँदै गरेका तीन नेपाली महिला भारतमै नियन्त्रणमा

भारतबाट नेपालतर्फ साइकलमा युरिया मल ल्याइरहेका तीन जना नेपाली महिलालाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)