देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना
पढ्न लाग्ने समय :
देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
सोमबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी परिरहेको छ।
महाशाखाका अनुसार पाल्पाको अर्चलेमा पछिल्लो एक घण्टामा २५.४ मिलिमिटर वर्षा मापन भएको छ। देशका अन्य स्थानमा भने छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।
पछिल्लो २४ घण्टामा सुर्खेतको इतराममा सबैभन्दा धेरै १३५ मिलिमिटर वर्षा मापन भएको छ। यस्तै, कास्कीको लुम्लेमा ९८.६ मिलिमिटर, काठमाडौंको साँखुमा ९३.६ मिलिमिटर र पाल्पाको अर्चलेमा ८१.६ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। अन्य धेरै स्थानमा पनि मध्यमदेखि भारी वर्षा भएको छ।
दिउँसो कहाँ–कहाँ वर्षाको सम्भावना ?
महाशाखाका अनुसार सोमबार दिउँसो देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने आकलन गरिएको छ।
राति पनि भारी वर्षाको जोखिम
सोमबार राति पनि वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।
देशका पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तीमध्ये एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भारी तथा धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा सडक यातायातमा अवरोध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।