तोकिएको समयमा संसद् बैठक सुरू नभएपछि निराश हुँदै फर्किए विद्यार्थी

Tuesday June 6, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । “लाष्टै दुःख लाइराछ…’’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो ।

राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधिसभाको बैठक दुई घन्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका थिए ।

उनीहरु कौतुहुलताका साथ बैठक सुरु हुनेमा प्रतीक्षारत थिए तर दिउँसो १ बजे बैठक आजै १ः३० बजे बस्ने गरी स्थगनको सूचना आएपछि निराश हुन पुगे । सङ्घीय संसद्मा माध्यमिक तहका विद्यार्थी सामाजिक अध्ययन विषयअन्तर्गत संसदीय गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न बेलाबखत आउने गर्दछन् ।

संसद् सचिवालयले ती विद्यार्थीका लागि प्रवेश अनुमति मिलाउने गर्दछ । यसरी आउन पनि सम्बन्धित विद्यालय र सचिवालयले समय व्यवस्थापन गर्नुपर्ने हुन्छ । कक्षा ९ र १० मा सामाजिक अध्ययन र कक्षा ११ र १२ मा सामाजिक तथा जीवनोपयोगी विषय राखिएको छ ।

उनीहरु आफूले जुन उद्देश्यले आएको हो सो उद्देश्य पूरा नभएको त्यसै फर्कनु परेकोमा जवाफ दिए । राससको जिज्ञाशामा कक्षा १० की समृद्धि तिमिल्सनाले ठूला–ठूला नेताहरु बस्ने र देश चलाउने कुरा हुने थलोमा यस्तो ढिलाइ, अन्योल र विवाद होला भनेर आफूहरुले नसोचेको प्रतिक्रिया दिए ।

विद्यार्थी विश्व न्यौपानेले आफूहरुले संसद्लाई प्रत्यक्ष अध्ययन गर्न नपाउँदा  दुःख लागेको बताए। केहीबेर बैठक बस्ने सूचना त किन फर्कँदै हुनुहुन्छ त भन्ने प्रश्नमा उनले भने, “विद्यार्थी जीवनमा समयको महत्व हुन्छ । हामीलाई विद्यालयले संसद्मा बस्न निर्धारण गरिएको समय सकिएकाले हामी फर्कियौँ ।’’

विद्यार्थीलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसर देखाउँदै गरेका विद्यालयका भाइस प्रिन्सिपल साजन कसमाल आफूहरुको १ बजेपछि विद्यालयमा नियमित कक्षा हुने भएकाले फर्किएर जान बाध्य भएको सुनाए ।

विद्यार्थीलाई बस चढाउँदै गरेकी विद्यालयका शिक्षक सरिता दाहाल सुरुमा आउँदा बडो उत्साहका साथ आएका भाइबहिनी अहिले निराश भएको बताए । अर्को कुनै दिन आउछन् कि भन्ने जिज्ञाशमा उनको जवाफ थियो, “अब हेरौँ के हुन्छ ।”

संसद्मा अवलोकन गर्न आएका टोखास्थित नितेन मेमोरियल स्कुलका शिक्षक सञ्जीव धितालले भने आफूहरु बैठक बस्छ कि भनेर अझै कुरिरहेको जनाए । उक्त विद्यालयबाट ५९ जना विद्यार्थी आएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहने कार्यसूची रहेको बैठक सत्ता र प्रतिपक्षी दलबीचको असमझ्दारीका कारण  सुरु हुन ढिलाइ भएको हो ।

सामाजिक अध्ययनको विषयले विद्यार्थीलाई असल नागरिक बनाउन प्रेरणा दिनाका साथै संविधान, सङ्घीयता र समावेशीताका सन्दर्भमा ज्ञान दिने लक्ष्यका साथ सरकारले माध्यमिक तहको पाठ्यक्रम परिमार्जन गरेको हो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।