डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले गोदावरीमा एउटा टेम्पो धकेलेर भीरबाट खसाले
पढ्न लाग्ने समय :
धनगढी : डिभिजन वन कार्यालय कैलालीका कर्मचारीले गोदावरीमा एउटा टेम्पो धकेलेर भीरबाट खसालेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ । घटना शनिबारको हो । भिडियो नै सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदहरुसम्मले घटनामा वन कर्मचारीहरुको व्यवहारको आलोचना गरिरहेका छन् ।
गोदावरी नगरपालिका-४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरुले भीरबाट धकेलेर खसालिदिएका थिए । अनेकौ हारगुहार गर्दा पनि आफ्नो टेम्पो उनीहरुले भीरबाट खसालिदिएको धामीले बताइन् । धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्थिन् ।
डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले उनीमाथि पनि वन अतिक्रमण गर्ने गरेको दाबी गर्दै टेम्पो भीरबाट खसालिदिएका हुन् ।
टेम्पो भीरबाट खसाल्नुअघि वनका कर्मचारीहरुले टेम्पोबाट सामान झारेका थिए ।
बरु टेम्पो घर लैजान्छु, अबदेखि यहाँ समान बेच्न आउँदिन भनेर हारगुहार गर्दा पनि कसैले सुन्न चाहेनन्, कर्मचारीहरुले धकेलेर टेम्पो भीरबाट खसाले’, धामीले भनिन् ‘वरिपरि झुम्मिएकाहरु भिडियो खिच्दै रमाए, कसैले पनि त्यो नगर्न भनेनन् ।’
यता वन कार्यालयले भने वन अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पो हटाइएको जनाएको छ । सब–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बोहराले उक्त टेम्पो एक महिनाअघि पनि हटाइएको बताए । उनले भने, ‘सवारी बोक्ने चालु अवस्थाको टेम्पो होइन, कवाड भइसकेको टेम्पोलाई छाप्रोका रुपमा प्रयोग गरेर पसल चलाउँदै आएकी थिइन् ।’
एक वर्षअघि छोराले टेम्पो किनिदिएको धामीले बताइन् ।