ट्रम्प प्रशासनको सहायता कटौतीको असरः दर्जनौं परियोजनाको भविष्य अन्योलग्रस्त
पढ्न लाग्ने समय :
अमेरिकी सहयोगका दुई ठूला सहायता रोकिएपछि नेपालमा दर्जनौं परियोजनाको भविष्य अन्योलमा परेको छ । बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), युएसआइडीबाट अमेरिकी सरकारले नेपाललाई दिने ठूलो सहायता रोकेपछि सञ्चालित योजनाहरुको भविष्य के हुने भन्नेबारे अन्योलता देखिएको हो । नेपालमा एमसीसीबाट खासगरी सडक तथा उर्जातर्फका योजनाहरु अघि बढिरहेका थिए । नेपाल र एमसीसीबीच २९ भदौ २०७४ मा सम्झौता भई एमसीसी परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो । सम्झौताअनुसार नेपालमा नुवाकोटको रातमाटेदेखि बुटवल हुँदै गोरखपुरसम्म ४ सय केभीए क्षमताको प्रशारण लाइन निर्माण अघि बढाइएको थियो । त्यस्तै विभिन्न पाँचवटा सडकको स्तरोन्नति समेत यो परियोजना अन्तर्गत भएको थियो ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशअनुसार एमसीसीबाट हुने भुक्तानीसहितका सबै गतिविधि ९० दिनका लागि स्थगित गरेसँगै एमसीसी परियोजनाहरु नेपालमा ठप्प भएका छन् । एमसिए–नेपालले सञ्चालन गरिरहेका विद्युत प्रशारण आयोजना र सडक मर्मत आयोजनाहरुको भविष्य भविष्य के हुने अन्योलनमा छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी विदेश मन्त्रालय र युएसआईडीमार्फत प्रवाह गरिने सबै विदेशी सहायता ९० दिनका लागि रोक्का गर्ने निर्णयको असर नेपालमा प्रत्यक्ष देखिएको छ । यो नीतिगत परिवर्तनका कारण नेपालमा चलिरहेका विभिन्न विकास परियोजनाहरू प्रभावित भएका छन् । विशेषगरी, नेपालका स्वास्थ्य, कृषि, शिक्षा, र समावेशी नीति सम्बन्धी चार ठूला युएसआईडी परियोजनाहरूमा यसले प्रत्यक्ष असर पार्नेछ । सरकार र युएसआईडी बीच भएको सहकार्यमा आधारित यी परियोजनाहरू संघीय, प्रादेशिक, र स्थानीय तहका विभिन्न निकायहरूसँग साझेदारी गरी कार्यान्वयन गरिँदै आएका थिए ।
युएसआईडी स्वास्थ्य प्रत्यक्ष वित्तीय परियोजना, जसको कुल बजेट ४२५ मिलियन रहेको छ, संघीय, प्रादेशिक, तथा स्थानीय सरकारहरूसँग सहकार्य गरी नेपालका स्वास्थ्य सेवा प्रणालीलाई सुधार गर्न केन्द्रित छ । यस्तै, युएसआईडी कृषि प्रत्यक्ष वित्तीय परियोजना, जसका लागि ४२१ मिलियन बजेट विनियोजन गरिएको थियो, ६९,००० घरपरिवार लाई खाद्य सुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यले थालिएको थियो ।
शिक्षा क्षेत्रमा समेत असर परेको छ । युएसआईडी शिक्षा प्रत्यक्ष वित्तीय परियोजना अन्तर्गत पाँच वर्षमा ४८५ मिलियन लगानी गरिने प्रतिवद्धता थियो, जसले विशेषगरी बञ्चित र सीमान्तकृत बालबालिकाहरू लाई गुणस्तरीय शिक्षामा पहुँच पु¥याउने लक्ष्य राखेको थियो । साथै, युएसआईडी समावेशी नीति प्रत्यक्ष वित्तीय परियोजना नीति सुधार र सुशासन प्रवद्र्धनमा केन्द्रित थियो, जसले सरकारी नीति निर्माण प्रक्रियामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको थियो तर, यी परियोजनाहरूको सहायता स्थगन भएपछि तिनको कार्यान्वयन अनिश्चित बनेको छ ।
सहायता कटौती भयो भने सञ्चालित आयोजनाहरु रुग्ण हुँदै जाने खतरा रहेको अर्थविद् नरबहादुर थापा बताउनु हुन्छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले भन्नुभयो – ‘अमेरिकी सरकारले तीनमहीनासम्म अनुदान स्थगित गर्दा सरकारले पनि स्थगित नै भन्यो । अहिले पर्ख र हेरको अवस्थामा सरकार रहेको देखियो । तीन महिनापछि अनुदान कटौती फुकुवा भए रोकिएका आयोजनाहरु अघि बढ्नेछन्, यदी फुकुवा भएन भने ती आयोजनाहरु रोकिने नै छन् ।’
नेपालले अमेरिकापछि दोस्रो स्रोत सम्पन्न चीनसँग सहायता लिनका लागि त्यति उदारता प्रश्तुत नगरेको उहाँले बताउनु भयो