ज्यान मुद्दामा जेल बसेका र इञ्जिनीयर नै लागुऔषध कारोबारी

Monday August 22, 2022

पढ्न लाग्ने समय :


काठमाडौं । उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले भदौ २ र ३ गते तीन पुरुषलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ परेका तीनमध्ये एक जना कर्तव्य ज्यान मुद्दामा आठ वर्ष सजाय भुक्तान गरी छुटेका र अर्का सिभिल इञ्जिनीयर रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । भदौ २ गते बुप्रेनफिन दुई सय ४३ एम्पुल, फेनारगन दुई सय ४३ एम्पुल र डाइजोपाम दुई सय ४३ एम्पुलसहित पक्राउ परेका ललितपुर–१८ बस्ने ३८ वर्षीय नवीन श्रेष्ठ रहेका छन् ।

कर्तव्य ज्यान मुद्दामा उनी यसअघि कारागार बसेर छुटेका थिए । उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनी आठ वर्षीय बालक धीरज अधिकारीलाई विसं २०६४ असोज १७ गते अपहरण गरी मारेपछि बागमती खोलामा फालेको अभियोग पुष्टि भई आठ वर्ष चार महिना कैद भुक्तान गरी छुटेको व्यक्ति हुन् ।

भदौ ३ गते काठमाडौँको कालोपुलबाट पक्राउ परेका ४३ वर्षीय सिभिल इञ्जिनीयर धु्रव लिम्बुबाट पनि प्रहरीले प्रतिबन्धित लागुऔषध बरामद गरेको थियो ।

कालोपुलमा कम्प्युटर तथा मोबाइल मर्मत गर्ने गरेका सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१० घर भएका लिम्बुबाट ब्यूरोको टोलीले लागुऔषध बुप्रेनफिन पाँच सय ६० एम्पुल, फेनारगन पाँच सय ८४ एम्पुल र डाइजोपाम सात सय ३७ एम्पुलसहित नियन्त्रणमा लिएको थियो ।

लिम्बु पक्राउ परेपछि उनकै बयानका आधारमा बाफलको होस्टेलबाट अर्का थप एक लागुऔषध कारोबारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा पर्सा विन्द्यवासिनी गाउँपालिका–४ घर भई कालोपुल बस्ने ४० वर्षीय जमुना साह तेली रहेको लागुऔषध नियन्त्रण ब्यूरोका सूचना अधिकारी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

खड्काले तेली बस्ने होस्टेलको कोठामा छापा मार्दा बुप्रेनफिन ९८ एम्पुल, डाइजोपाम एक सय दुई, एम्पुल बरामद भएको बताए । तेलीले भारतको रक्सौलबाट आफूले प्रयोग गर्ने ना ४३ प ६६९३ नम्बरको मोटरसाइकलको पेट्रोल हाल्ने ट्याङ्की काटेर त्यसको तलपट्टी फल्स बटन राखी लागुऔषध ओसारपसार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

फल्स बटन राखेर लागुऔषध ओसारपसार गर्दा पेट्रोल कम हुने भएकाले तेलीले खानेपानीको बोलमा पेट्रोल भरेर झोलामा राखेर हिँड्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । लागुऔषध काठमाडौँ पुर्याएबापत तेलीले प्रतिपटक ५० हजारको दरले लिने गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार तेलीले नियन्त्रित लागुऔषधका एम्पुल ध्रुव लिम्बुलाई बिक्री गर्न दिने र लिम्बुले नवीन श्रेष्ठलाई बिक्री वितरण गरेको अनुसन्धानबाट पाइएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।