जेनजी आन्दोलनकाे प्रतिवेदन सरकारलाई बुझाईयाे
पढ्न लाग्ने समय :
काठमाडौँ: गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउनुभएको हो।
कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव, आयोगका पदाधिकारी लगायतको पनि उपस्थिति थियो। कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिना कुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको बताए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले बताए।
आयोगका सदस्य विज्ञानराज शर्माले यो प्रतिवेदन जाँचबुझ मात्र भएकाले अब कारबाही गर्ने निकायले अनुसन्धान गर्नुपर्ने र यसमा अनुसन्धानका लागि आधार तयार गरिदिएको बताए। अर्का सदस्य विश्वेश्वर भण्डारीले सुशासनका लागि के गर्ने भन्ने विषयमा प्रतिवेदनले उल्लेख गरेका कुरा कार्यान्वयन गर्न सके मुलुकको अवस्था धेरै फेरिनसक्ने बताए।
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषदमा पेस गर्ने बताए। उनले भने, ‘न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईंहरूको विज्ञता र योग्यताबारे थाहा पाएर नै आयोगमा नियुक्त गरेका हौँ। आ–आफ्नो क्षेत्रमा तपाईंको प्रख्याति छ। त्यसको प्रतिबिम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ। दुधको दुध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ। अब यसको अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढ्छ। यसको विवरण हेरेर पूरै दस्तावेज तत्काल सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ।’