जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा

Saturday March 30, 2024

पढ्न लाग्ने समय :


मनाङ । देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ। चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ।

यही चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा सकिएका छन्। बाँकी विषयका परीक्षा पनि सोही कोठाबाटै सञ्चालन गरिने जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मतिलाल चपाईंले जानकारी दिए। विगतका वर्षभन्दा फरक ढंगले यस वर्षको एसइई सञ्चालन गरिएको उनको भनाइ छ।

चपाईंका अनुसार उक्त परीक्षा केन्द्रबाट ४२ वर्षीया आमा राधा थापा क्षेत्री र १६ वर्षीय छोरा जयराम थापा क्षेत्रीले सँगै परीक्षा दिइरहेका छन्।

‘अहिलेसम्मका परीक्षा शान्तिपूर्ण, मर्यादित र भयरहित वातावरणमा भएका छन्,’ उनले भने, ‘अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आउनुभएको थियो । हामीले पालैपालो अनुगमन गर्ने गरेका छौं। यसले विद्यार्थीमा त्रासको वातावरण पैदा गरेको छैन।’

चालीस परीक्षार्थीमध्ये एक जना अनुपस्थित भएकाले अहिले ३९ जना परीक्षामा सहभागी भएका चपाईंले बताए। उनका अनुसार परीक्षा केन्द्र परिसरको सुरक्षाका लागि नेपाल प्रहरीका सात र सशस्त्र प्रहरी बलका सात गरी १४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

उक्त परीक्षा केन्द्रमा २३ छात्रा र १७ छात्र गरी कूल ४० विद्यार्थीले एसइईमा सहभागिता जनाउने गरी फाराम भरेकामा खुलातर्फका एक जना अनुपस्थित भएपछि ३९ परीक्षार्थीले परीक्षा दिइरहेका केन्द्राध्यक्ष श्यामकृष्ण पन्तले जानकारी दिए।

उनका अनुसार प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला) दुई गरी ३९ जना सहभागी भएका छन्।

लोकप्रिय माविमा परीक्षा केन्द्र कायम गरिकामा आवासीय विद्यालय भएकाले होहल्ला हुने तथा नजिकै पहिरो गएकाले समस्या हुनसक्ने भएपछि बालमन्दिर प्राविको हलमा परीक्षा सञ्चालन गरिएको पन्तले बताए।

उनका अनुसार मनाङमा एउटै परीक्षा केन्द्र र एउटै परीक्षा हल कायम भएको छ। मर्यादित ढंगबाट परीक्षा सञ्चालन भएको जानकारी दिँदै उहाँले यस वर्षदेखि एसइई दिने विद्यालयका कोहीलाई पनि निरीक्षक तथा केन्द्राध्यक्ष नराखिएको बताए।

‘विगतका वर्षमा जुन परीक्षा केन्द्र हुन्थ्यो, त्यही विद्यालयका प्रधानाध्यापक केन्द्राध्यक्ष हुने र अन्य शिक्षक निरीक्षक बन्ने गरिएको थियो। यस वर्षदेखि उक्त व्यवस्थामा परिवर्तन गरेका छौं,’ केन्द्राध्यक्ष पन्तले भने, ‘थोरै विद्यार्थी भएकाले दुई जना निरीक्षक राखेर परीक्षा सञ्चालन गरिरहेका छौं।’

प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने र शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चपाईंले अनुगमन गर्दै आएका छन्। परीक्षा हलमा तस्बीर खिच्न निषेध गरिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।