चिसो बढेपछि घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

Tuesday January 2, 2024

पढ्न लाग्ने समय :


सिमकोट (हुम्ला)  ।  उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन् । हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन् ।

चिसोले सबैभन्दा बढी विद्यार्थीलाई समस्या बनाएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् । कक्षा कोठाभित्र चिसो बढी हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई घाममा राखेर परीक्षा सञ्चालन गरेको प्रधानध्यापक प्रेमकला बुढाले बताइन् ।

प्रधानाध्यापक बुढाले भनिन्, “स–साना बालबालिकाले चिसोको समय हिउँदयाममा कक्षा कोठाभित्र बसेर परीक्षा दिन नसक्ने अवस्था आएपछि चौरमै डेस्क, बेन्च राखेर वार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।” चिसोले कक्षा कोठाभित्र लेख्न नसक्ने भएपछि चौरमै बसेर परीक्षा दिने व्यवस्था गरिएको प्रधानध्यापक बुढाले बताइन् । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

बलभद्र आधारभूत विद्यालय सातामा एक सय ६२ जना विद्यार्थी रहेका छन्भने कक्षा एकदेखि छसम्म पठनपाठन हुँदै आएको छ । हाल आठजना शिक्षक विद्यालयमा कार्यरत छन् । वार्षिक परीक्षा सकिएपछि ४५ दिनका लागि विद्यालयमा हिउँदे बिदा हुने उनले बताइन् ।

सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका आधारभूत,  माध्यमिक विद्यालयमा आजदेखि एकसाथ वार्षिक परीक्षा सञ्चालन गरेको छ । सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लाका धेरै विद्यालयले खुला चौरको पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेका छन् ।

सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो बढेको छ । जिल्लामा हिमपात नभए पनि हिउँदयाममा चिसो अत्यधिक हुने गरेको छ । यस्तै तापक्रम माइनसमा झरेको छ । हिमपात भयो भने जिल्लाको तापक्रम माइनस १५ डिग्रीबाट झर्ने गरेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।