खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

Friday August 14, 2026

पढ्न लाग्ने समय :


सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार दिउँसो मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो।

नेपाली कम्युनिस्ट पार्टीका प्रदेश संसदीय दलका नेता भट्ट शुक्रबार नै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। उहाँ सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको हो।

बिहीबार तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभा बैठक लगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुभएको थियो। त्यसपछि भट्टले नेकपा एमाले र नेकपाको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो।

प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम भट्टलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सांसद छन्। तीमध्ये एक जना निलम्बित र एक जना नेपाल बाहिर रहेको बताइएको छ। प्रदेश सभामा नेकपाका २१ र नेकपा एमालेका ११ जना सांसद छन्।

सपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री भट्टले सुदूरपश्चिमका जनतालाई प्रदेश सरकारको उपस्थितिको अनुभूति गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ‘प्रदेशको काम छैन’ भन्नेहरूलाई कामबाटै जवाफ दिनुपर्ने बताउनुभयो।

मुख्यमन्त्री भट्टले संघीयता कार्यान्वयन भएको दश वर्ष नपुग्दै संघीयता काम लागेन भन्ने खालको भाष्य निर्माण हुनु चिन्ताको विषय भएको बताउनुभयो। उहाँले सबैलाई सकारात्मक भएर संघीयतालाई बलियो बनाउन आग्रह गर्नुभयो।

मुख्यमन्त्री भट्टले प्रदेश सरकारलाई प्रभावकारी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।