कैलालीमा पानी नपरेपछि रोपो सुक्न थाल्यो

Tuesday June 23, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीका किसानको खेतमा रोपो सुक्न थालेको छ । असारमा पनि पानी नपरेपछि रोपाइँ भएको खेतमा रोपो सुक्न थालेको हो ।

वर्षा नभए पनि किसानले भूमिगत पानीबाट सिँचाइ गरेर धमाधम रोपाइँ गरिरहेका छन् तर अत्यधिक गर्मी र सुक्खाका कारण उनीहरूलाई रोपो जोगाउन धौ धौ भएको छ । पानी नपरेपछि खेतमा धाँजा फाट्न थालेको छ ।

रोपाइँ भएको खेतको जमिन सुकेर सेताम्मे भएको भजनी नगरपालिका-५, लालबोझीका कृषक खोजराम चौधरीले बताए । उनले यस वर्षको रोपाइँ आफूले सकिसकेको बताउँदै भने, “रोपो सुक्न थालेपछि दोहोरो सिँचाइ गरिरहेको छु । यहाँ नदीसमेत सुकिसकेकाले भूमिगत जलस्रोतको पानी तानेर सिँचाइ गर्नु परेको छ ।”
ग्रामीण क्षेत्रमा किसानले जेठ अन्तिमतिरबाटै रोपाइँ सुरु गरेका थिए तर असार पहिलो सातासम्म वर्षा नभएपछि उनीहरूले रोपो जोगाउन दोहोरो खर्च गर्नु परिरहेको छ । डिजल खर्चेर रोपाइँ गरेकोमा रोपोमा पानी हाल्न पुनः खर्च गर्नु परेकाले लागत बढिरहेको उनीहरूको भनाइ छ ।
पानी नपर्दा कृषकलाई रोपाइँ गर्न र रोपो जोगाउन निकै समस्या भइरहेको धनगढी उपमहानगरपालिका-१०, जुगेडाका रामदास रानाले बताए । उनले भने, “गर्मी र सुक्खाका कारण समस्या भएको छ । रोपेको खेतमा ध्वजा परिसकेको छ ।” सुक्खा लम्बिएपछि भूमिगत जलस्रोतको पानी पनि सुक्न थालेको छ । बोरिङमा पानी सुकिरहेको किसानले जनाएका छन् । बोरिङ सुकेपछि बिचमै रोपाइँ रोकेको कृषक प्रदीपकुमार चौधरीले बताए ।

नेपालमा यस वर्षको मनसुन असार ५ (जुन १९) गते प्रवेश गरिसकेको छ ।तर मनसुन कमजोर अवस्थामा रहेकाले देशको अन्य भूभागमा फैलिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । नेपालमा साधारणतया जुन १३ मा मनसुन प्रवेश गर्ने गरेकोमा यस वर्ष छ दिन ढिलो गरेर आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।