कैलालीको वनमा डमरुसहितको बाघ देखियो, स्थानीय त्रसित

Monday June 8, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको एक सामुदायिक वन क्षेत्रमा बाघ देखिएको छ। जिल्लाको कैलारी गाउँपालिकास्थित घुरहा नदी आसपासका सामुदायिक वन क्षेत्रमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।
डमरुसहितको पोथी बाघले घरपालुवा जनावरसमेत मार्न थालेपछि स्थानीयमा त्रास बढेको हो। वन क्षेत्रको आसपास विद्यालयसमेत रहेकाले विद्यार्थीहरूको सुरक्षाप्रति चिन्ता बढेको कैलारी गाउँपालिका–४, के गाउँका तीर्थराज नेपालले बताए। उनका अनुसार बाघ देखिएपछि विद्यालय वरपरका झाडी सफा गरिएको छ।
कैलारी गाउँपालिका–४ स्थित हरियाली महिला सामुदायिक वन, मिलन सामुदायिक वन तथा वडा नं. ६ को भगतपुरस्थित सयपत्री सामुदायिक वन क्षेत्रमा डमरुसहितको बाघ ओहोरदोहोर गरिरहेको स्थानीयले बताएका छन्। यी वन क्षेत्र घुरहा नदी वारिपारि एकै क्षेत्रमा अवस्थित छन्।
हरियाली महिला सामुदायिक वन उपभोक्ता समितिकी सचिव सुनिताकुमारी चौधरीका अनुसार बाघले दुई वटा गोरु र एउटा बँदेल मारिसकेको छ। उनले भगतपुरका स्थानीयले बाघलाई डमरुसहित नदी वारपार गरिरहेको अवस्थामा देखेको जानकारी दिए।
यसैगरी, वनमा हराएको गाई खोज्न गएका के गाउँका चन्द्रकला नेपाल र उनका छोरा नीरज नेपालको पनि बाघसँग केही मिटरको दूरीमा जम्काभेट भएको थियो। बाघसँग जम्काभेट भएपछि आफूहरू त्रसित भए पनि केही तस्बिर खिचेर घर फर्किएको नीरजले बताए।
भारतको दुधुवा राष्ट्रिय निकुञ्ज नजिक पर्ने उक्त क्षेत्रमा विगतमा पनि पाटेबाघ ओहोरदोहोर गर्ने गरेको अभिलेख छ। दुधुवामा बाघको सङ्ख्या बढी भएकाले पोथी बाघले आफ्ना डमरु जोगाउन तथा हुर्काउन बसन्ता जैविक मार्ग (कोरिडोर) हुँदै विभिन्न सामुदायिक वन क्षेत्रमा ल्याउने गरेको स्थानीयको भनाइ छ। हरियाली महिला सामुदायिक वनलगायतका क्षेत्रमा मोहना र घुरहा नदी किनार हुँदै बाघ दुधुवाबाट आउने गरेको जनाइएको छ।
सामुदायिक वन क्षेत्र वरिपरि विद्यालयसमेत रहेकाले बाघको गतिविधि निगरानी गर्न क्यामेरा ट्र्याप जडान गर्न स्थानीयले डिभिजन वन कार्यालयसँग माग गरेका छन्।
डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले कैलारीका सामुदायिक वन क्षेत्रमा बाघ देखिएको विषयमा औपचारिक जानकारी प्राप्त नभएको बताए। यद्यपि, बाघ आएको पुष्टि भएमा आवश्यक सतर्कता अपनाउन उनले स्थानीयलाई आग्रह गरेका छन।
स्थानीयका अनुसार बाघ हुलाकी राजमार्ग अन्तर्गत घुरहा नदीको पुल क्षेत्रदेखि उत्तरतर्फको वन क्षेत्र र नदी किनारमा ओहोरदोहोर गरिरहेको छ। त्यस क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन स्थानीयले अनुरोध गरेका छन्।
यसैबिच, सयपत्री सामुदायिक वन उपभोक्ता समितिका सचिव नरेन्द्र थारुले डमरुसहितको पोथी बाघलाई पछ्याउँदै भाले बाघ पनि उक्त क्षेत्रमा आएको दाबी गरे। उनका अनुसार भाले बाघ आएपछि पोथी बाघ आफ्ना डमरुसहित मोहनपुरतर्फको वन क्षेत्रमा सरेको छ।


भर्खर

आज साउन १५ : खीर खाने दिन

आज साउन १५ गते देशभर परम्पराअनुसार खीर खाएर मनाइँदै छ। वर्षायाममा पर्ने साउन १५ मा

विद्यालय शिक्षाका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा

मधेसमा फैलिएको तनावप्रति गगन थापाको चिन्ता, स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्जबाट सुरु भएको हिंसात्मक घटनापछि पर्सा, धनुषा, सिरहालगायत मधेसका