कैलालीको मोहन्यालका आमा-शिशु भवनविहीन खोप केन्द्रको भरमा
पढ्न लाग्ने समय :
कैलाली : कैलालीको मोहन्याल गाउँपालिका भौगोलिक रूपमा दुर्गम, छरिएको बस्ती र सीमित पूर्वाधारका कारण विकासका धेरै सूचकमा पछि परेको स्थानीय तह मानिन्छ । तर यहाँको स्वास्थ्य क्षेत्रको यस्तो समस्या छ, जसले प्रत्यक्ष रूपमा नवजात शिशु, बालबालिका र गर्भवती महिलाको जीवनसँग सम्बन्ध राख्छ, ‘खोप केन्द्र भवनको अभाव ।’
२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मोहन्याल गाउँपालिकाको कूल जनसङ्ख्या २१ हजार ८२ रहेको छ । गाउँपालिकामा एक वर्षमुनिका बालबालिकाको सङ्ख्या ३५२, वार्षिक जीवित जन्म सङ्ख्या ३५६ र अनुमानित गर्भवती महिलाको सङ्ख्या ४२२ रहेको तथ्यांकले यहाँ मातृ तथा शिशु स्वास्थ्य सेवाको आवश्यकता कति महत्वपूर्ण छ भन्ने स्पष्ट देखाउँछ । तर विडम्बना, स्वास्थ्य सुरक्षाको पहिलो आधार मानिने खोप सेवा नै पर्याप्त भौतिक पूर्वाधारको अभावमा सञ्चालन भइरहेको छ ।
गाउँपालिकाभित्र तीन स्वास्थ्य चौकी, पाँच आधारभूत स्वास्थ्य सेवा केन्द्र, चार सामुदायिक स्वास्थ्य इकाई, २८ गाउँघर क्लिनिक र २० खोप केन्द्र सञ्चालनमा छन् । कागजमा हेर्दा स्वास्थ्य संरचना पर्याप्त जस्तो देखिए पनि वास्तविकतामा अधिकांश सेवाहरू सीमित स्रोतसाधन र कठिन परिस्थितिमा सञ्चालन भइरहेका छन् । विशेषगरी दुर्गम बस्तीमा रहेका खोप केन्द्रहरू भवनविहीन हुँदा सेवा प्रभावकारी बन्न सकेको छैन ।
मोहन्यालका विभिन्न वडामा रहेका खोप केन्द्रहरू वर्षौँदेखि आफ्नै भवनको पर्खाइमा छन् । वडा नम्बर १ को चोसेकाडा, वडा नम्बर २ का दोभान, चिरकट्टे र बजेडी, वडा नम्बर ३ का चौतारा र सुगरखालडाँडा, वडा नम्बर ४ को खनियाताल, वडा नम्बर ५ का न्यौलाड, पाल्सा र सालघारी, वडा नम्बर ६ को तल्लो सोल्टा तथा वडा नम्बर ७ को ज्यामिरे क्षेत्रमा खोप केन्द्र भवन नहुँदा सेवा सञ्चालन नै चुनौतीपूर्ण बनेको छ ।
प्रत्येक महिनाको ८ गतेदेखि १० गतेसम्म नियमित खोप सेवा सञ्चालन हुने गरे पनि स्थायी भवन नहुँदा स्वास्थ्यकर्मीहरूलाई विद्यालय, सामुदायिक भवन, निजी घर वा अस्थायी टहरामा सेवा दिनुपर्ने बाध्यता छ । कतिपय स्थानमा खुला चौर वा अस्थायी छानामुनि खोप सञ्चालन हुने गरेको स्थानीयवासी बताउँछन् । खोप केन्द्र भवन नहुँदा सबैभन्दा बढी असर सेवाग्राहीमा परेको छ ।
बालबालिकालाई खोप लगाउन आउने आमाहरूले घाम, पानी, चिसो र हावाबाट जोगिने उचित स्थान पाउँदैनन् । नवजात शिशुलाई बोकेर घण्टौँ प्रतीक्षा गर्नुपर्ने अवस्था छ । वर्षायाममा झन् समस्या गम्भीर बन्छ । कतिपय अवस्थामा मौसम प्रतिकूल हुँदा सेवा सञ्चालन नै प्रभावित हुने गरेको स्वास्थ्यकर्मीहरूको अनुभव छ ।
स्वास्थ्य सेवा केवल औषधि वा खोप उपलब्ध गराउनु मात्र होइन, सुरक्षित र व्यवस्थित वातावरणमा सेवा दिनु पनि हो । तर मोहन्यालका अधिकांश खोप केन्द्रमा न त सुरक्षित प्रतीक्षालय छ, न शौचालय, न आवश्यक सामग्री राख्ने कोठा । यसले सेवा प्रवाहको गुणस्तरमा प्रत्यक्ष असर पारिरहेको छ । स्वास्थ्य शाखाका अनुसार खोप केन्द्र भवनको अभावले खोप सामग्रीको व्यवस्थापनमा समेत समस्या उत्पन्न गरिरहेको छ।
खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक अभिलेख, उपकरण र अन्य सामग्री सुरक्षित राख्न कठिन हुने गरेको छ । स्वास्थ्यकर्मीहरूले न्यून स्रोतसाधनका बीच कार्यक्रम सञ्चालन गरिरहे पनि पूर्वाधार अभावले अपेक्षित परिणाम हासिल गर्न सकिएको छैन । मोहन्याल गाउँपालिकामा हाल ८० जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरू दुर्गम बस्तीमा पुगेर खोप, पोषण, सरसफाइ तथा मातृ–शिशु स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने काममा सक्रिय छन् । तर, स्वयंसेविकाहरूको सक्रियता मात्र पर्याप्त छैन ।
सेवाको स्थायित्व र गुणस्तरका लागि आवश्यक भौतिक संरचना अपरिहार्य हुन्छ । स्वास्थ्य संस्थाहरूमा चिकित्सकको दरबन्दी तथा सेवा उपलब्ध नहुनु अर्को चुनौती हो । उपलब्ध जनशक्तिमा जम्मा ६२ कर्मचारी कार्यरत छन्, जसमा पाँच जना जनस्वास्थ्य निरीक्षक वा हेल्थ असिस्टेन्ट, १५ जना नर्सिङ कर्मचारी, १४ जना सिनियर अहेव, चार जना ल्याब कर्मचारी तथा २३ जना सहयोगी कर्मचारी रहेका छन् ।
सीमित जनशक्ति, कठिन भूगोल र अपर्याप्त पूर्वाधारका बीच स्वास्थ्यकर्मीहरूले सेवा सञ्चालन गरिरहेका छन् । खोप सेवाको प्रभावकारितामाथि प्रश्न उठाउने अर्को महत्वपूर्ण सूचक भनेको खोप कभरेज दर हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०-०८१ मा मोहन्याल गाउँपालिकाको डीपीटी–१ खोप कभरेज जम्मा ६१ प्रतिशत रहेको छ । यो राष्ट्रिय लक्ष्यभन्दा निकै कम हो ।
यसले अझै पनि ठूलो सङ्ख्यामा बालबालिका नियमित खोप सेवाको पहुँचबाहिर रहेको संकेत गर्छ । सोही अवधिमा डीपीटी खोपको खेर जाने दर ३४ प्रतिशत रहेको छ । स्वास्थ्य क्षेत्रमा खोप खेर जाने दर निश्चित सीमाभन्दा बढी हुनु कार्यक्रम व्यवस्थापनमा चुनौती रहेको संकेत मानिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार खोप केन्द्रसम्मको पहुँच, सेवाग्राहीको उपस्थिति, पूर्वाधार र व्यवस्थापनको अवस्था सुधार गर्न सके खोपको खेर जाने दर घटाउन सकिन्छ ।
खोप कार्यक्रम कुनै साधारण स्वास्थ्य सेवा होइन । यसले दादुरा, पोलियो, क्षयरोग, डिप्थेरिया, टिटानस, कालीखोकीजस्ता घातक रोगबाट बालबालिकाको जीवन जोगाउँछ । विश्व स्वास्थ्य संगठनले खोपलाई सार्वजनिक स्वास्थ्यको सबैभन्दा सफल र लागत प्रभावकारी कार्यक्रममध्ये एक मानेको छ । यस्तो अवस्थामा खोप केन्द्र भवन अभावका कारण सेवाको गुणस्तर प्रभावित हुनु गम्भीर विषय हो ।
स्थानीय बासिन्दाहरूले वर्षौँदेखि खोप केन्द्र भवन निर्माणको माग गर्दै आएका छन् । उनीहरूको भनाइमा गाउँपालिकाका दुर्गम क्षेत्रमा सडक, शिक्षा र स्वास्थ्य सबै क्षेत्रमा समस्या भए पनि खोप केन्द्र निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ । भवन निर्माण भएमा खोप सेवासँगै गर्भवती महिला, सुत्केरी र बालबालिकाका लागि आधारभूत स्वास्थ्य सेवा सहज रूपमा सञ्चालन गर्न सकिने विश्वास स्थानीयको छ ।
स्वास्थ्य शाखाले पनि पटक–पटक गाउँपालिका, प्रदेश सरकार तथा संघीय सरकारसमक्ष आवश्यक बजेट व्यवस्थापनका लागि पहल गरेको जनाएको छ । तर हालसम्म पर्याप्त बजेट सुनिश्चित हुन नसक्दा अधिकांश खोप केन्द्रहरू अस्थायी संरचनामै सञ्चालन भइरहेका छन् । नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ ।
राष्ट्रिय खोप कार्यक्रमले समेत सुरक्षित भवन, तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण र नियमित आपूर्ति व्यवस्थालाई अनिवार्य मानेको छ । तर मोहन्यालको यथार्थले नीति र व्यवहारबीच अझै ठूलो दूरी रहेको देखाउँछ । स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले मोहन्यालजस्ता दुर्गम पालिकामा खोप केन्द्र भवन निर्माणलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
संघीय सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार तथा स्थानीय तहबीच समन्वय गरेर चरणबद्ध रूपमा भवन निर्माण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । खोप केन्द्र भवन निर्माण केवल एउटा संरचना बनाउने काम होइन । यो हजारौँ बालबालिकाको भविष्य सुरक्षित गर्ने, मातृ मृत्युदर घटाउने, खोपबाट बच्न सकिने रोग नियन्त्रण गर्ने र दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य अधिकारको प्रत्याभूति दिलाउने प्रयास हो ।
मोहन्यालका धेरै आमा आफ्ना शिशुलाई बोकेर अस्थायी टहरामा खोप लगाउन पुग्छन् । स्वास्थ्यकर्मीहरू सीमित स्रोतसाधनका बीच सेवा दिन संघर्ष गरिरहेका छन् । राज्यले स्वास्थ्य सेवाको पहुँच विस्तारको कुरा गरिरहँदा मोहन्यालका भवनविहीन खोप केन्द्रहरूले भने अझै आधारभूत पूर्वाधारको प्रतीक्षा गरिरहेका छन् । खोपबाट बचाउन सकिने रोगहरूको जोखिम घटाउने र मातृ–शिशु स्वास्थ्य सुधार गर्ने राष्ट्रिय लक्ष्यलाई वास्तविकतामा परिणत गर्ने हो भने मोहन्यालका खोप केन्द्र भवन निर्माण अब विकल्प होइन, तत्काल आवश्यक प्राथमिकता बनेको छ ।