काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा एसईईको नतिजा सुधार

Friday July 28, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । यसवर्ष काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूमध्ये ‘ए प्लस’ ल्याउने विद्यार्थीको संख्या ७८ प्रतिशतले वृद्धि भएको छ । गएको वर्ष परीक्षामा सहभागी हुन आवेदन दिएका ३ हजार ९४३ छात्रछात्रामध्ये ८५ (२.१६प्रतिशत) जनाले ‘ए प्लस’ ग्रेड ल्याएका थिए ।

यस वर्ष ३ हजार ९१२ छात्रछात्राले आवेदन दिएकामा १५० (३.८३प्रतिशत) छात्रछात्राले ‘ए प्लस’ ग्रेड ल्याएका छन् । आवेदकमध्ये गएको वर्ष १२५ (३.१७प्रतिशत) जना गयल भए भने यस वर्ष ५० (१.२३प्रतिशत) जना गयल देखिए । यो तथ्याङ्कबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीको संख्या बढ्दै गएको देखिएको छ । विद्यालय शिक्षाप्रति विद्यार्थीहरू नियमित हुन थालेका छन् । यसबारे काठमाडौं महानगरले प्रारम्भ गरेका शैक्षिक कार्यक्रम समयसापेक्ष र व्यावहारिक भएको पुष्टि गरेको मेयर बालेन साह बताउँछन् ।

गएको वर्ष ‘ए’ ग्रेड ल्याउने छात्रछात्राको संख्या ३२५ (८.२४प्रतिशत) जना थियो । यस वर्ष ४८६ (१२.४२प्रतिशत) पुगेको छ । यो ५१ प्रतिशत वृद्धिदर हो । गएको वर्ष ६९७ (१७.६८प्रतिशत) जनाले ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए । यस वर्ष ८०४ (२०.५५प्रतिशत) जनाले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । यो १६ प्रतिशत वृद्धि हो । गएको वर्ष ‘बी’ ल्याउने विद्यार्थीको संख्या ९६६ (२४.५०प्रतिशत) थियो । यस वर्ष ९७४ (२४.९०प्रतिशत) पुगेको छ ।

गएको वर्ष १००४ (२५.४६प्रतिशत) को ‘सी प्लस’ ग्रेड आएको थियो । यस वर्ष ‘सी प्लस’ ल्याउने विद्यार्थीको संख्या घटेर ९१३ (२३.३४प्रतिशत) पुगेको छ । यसको घट्दो प्रतिशत (–८ प्रतिशत) हो । यससँगै ‘सी’ ग्रेड ल्याउने विद्यार्थीको संख्या (–२९ प्रतिशत) ले घटेको छ । गएको वर्ष यस ग्रेडमा ६२० जना (१५.७२प्रतिशत) उत्तीर्ण थिए । यस वर्ष ४३५ (११.१२प्रतिशत) मा घटेको छ ।

महानगरभित्रका सामुदायिक विद्यालयमा यस वर्षदेखि उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको संख्या बढेको र कमजोर ग्रेड ल्याउने विद्यार्थीको संख्या घटेको यो तथ्याङ्कले देखाएको छ ।

शैक्षिक सुधार कसरी भयो ? यसो भन्छन् मेयर साह
गणित र विज्ञान विषयका लागि ५० वटा विद्यालयमा ५७ जना शिक्षक सहयोगी परिचालन गर्यौँ । गणित, विज्ञान, अङ्ग्रेजी, सामाजिक र नेपाली विषयमा सुधार गर्न सबै विद्यालयका लागि १७ जना शैक्षिक सहजकर्ता परिचालन गर्यौँ । ९० जना शिक्षकलाई १० घन्टे आइसीटी इन एजुकेसन तालिम प्रदान गर्यौँ । शिक्षासँग प्रविधिलाई जोड्न र शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल वियोन्डसँगको सहकार्यमा तालिम भएको थियो ।

प्रविधिमैत्री सिप विकास, शिक्षकको विषयगत क्षमता विकास र शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षकको समग्र चेतना विकासको लागि आधारभूत प्रशिक्षण, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार कार्यक्रम हाम्रा सफलताका लागि साथ दिने कार्यक्रम हुन् ।

विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापका कारण विद्यार्थीहरु पढाइमा थप रुचि राख्न थाले । अध्यापनका क्रियाकलापमा विद्यालयको सक्रियता बढ्न थाल्यो । प्रत्येक वडामा एउटा विद्यालयलाई सिकाई हब बनाई शिक्षकहरूको सिकाई अभिवृद्धि गर्न विषयगत तालिम सञ्चालन हुनुको नतिजा कक्षाकोठा र परीक्षाफलमा बिम्बित भएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।