कञ्चनपुरमा १८७ मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

Wednesday June 24, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय तहले १८७ जना मृतकको खातामा १५ लाख सात हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेका हुन् ।
शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८१ /२०८२ मा ३५ जना मृतकको खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । नगरपालिकाले सो आर्थिक वर्षमा दुई लाख ५९ हजार १११ रुपियाँ मृतकको खातामा भत्ता निकासा गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसका साथै शुक्लाफाँटा नगरपालिकाले एक जनालाई ८४ हजार रुपियाँ दोहोरो भत्ता तथा एक जना विधवा विवाहितको खातामा पनि भत्ता निकासा गरेको छ ।
लालझाडी गाउँपालिकाले पनि आव २०८१/८२ मा अन्य ज्येष्ठ नागरिक भत्ता, अति अशक्त अपाङ्गता भत्ता, ज्येष्ठ नागरिक (दलित)  भत्ता लाभग्राहीको मृत्यु भएको एक वर्षसम्म निकासा गरेको पाइएको छ । गाउँपालिकाले सो आवमा १३ जना मृतकको खातामा ९२ हजार २७३ रुपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको लेखा परीक्षण प्रतिवेदनले पुष्टि गरेको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी अन्य ज्येष्ठ नागरिक भत्ता अन्तर्गत एक मृतक पुरुषको खातामा तेस्रो किस्ताको ३० हजार ४५२ रुपियाँ निकासा गरिएको छ ।
त्यसै गरी जिल्ला सदरमुकामस्थित भीमदत्त नगरपालिकाले आव २०८१/८२ मा चार लाख २० हजार १९६ रुपियाँ मृतकका खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । सो पालिकाले ३३ जना ज्येष्ठ नागरिक, एकल महिला तथा दलितका खातामा मृत्यु भएपछि पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको लेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ । भीमदत्तले सबैभन्दा बढी वडा नम्बर १६ का ज्येष्ठ नागरिक पुरुषको निधनपछि ३८ हजार ६६७ रुपियाँ निकासा गरेको प्रतिवेदनमा उल्लेख छ ।
बेलौरी नगरपालिकाले पनि आव २०८१/८२ मा १७ जना विधवा, अन्य ज्येष्ठ नागरिकको मृत्यु भएपछि खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सबैभन्दा बढी वडा नम्बर ७ का मृतक ज्येष्ठ नागरिकको खातामा २६ हजार ६२० गरी १७ जना मृतकको खातामा एक लाख ३० हजार २५७ रुपियाँ निकासा गरेको उल्लेख छ । वेदकोट नगरपालिकाले पनि सोही आवमा दुई लाख ६० हजार रुपियाँ मृत्यु भइसकेका व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । महालेखा परीक्षकको कार्यालयले मृत्यु भएका व्यक्तिको खातामा निकासा गरिएको सो रकम खाताबाट फिर्ता ल्याएर सङ्घीय सञ्चित कोषमा दाखिला गर्न लगाएको छ ।
महालेखा परीक्षकको कार्यालय अनुसार पश्चिमी क्षेत्रस्थित दोधाराचाँदनी नगरपालिकाले भने एक जना मृतकको खातामा पाँच हजार ४१९ रुपियाँ नगद जम्मा गरेको पाइएकाले सो रकम फिर्ता गर्न लगाइएको छ । त्यसै गरी कृष्णपुर नगरपालिकाले आव २०८१/८२ मा अन्य ज्येष्ठ नागरिक, अति अशक्त अपाङ्गता भत्ता, विधवा भत्ता गरेर ४९ जना मृतकको खातामा तीन लाख ३८ हजार ८९१ रुपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । कृष्णपुरले सबैभन्दा बढी वडा नम्बर ५ का मृतक ज्येष्ठ नागरिकको खातामा ३० हजार ६६७ रुपियाँ निकासा गरेको प्रतिवेदनले देखाएको छ । लाभग्राहीले मृत्यु भएको दिनसम्म सामाजिक सुरक्षा भत्ता पाउन सक्ने भए पनि यहाँका स्थानीय तहले भने लगत कट्टा नगरेरै मृत्युपछि पनि रकम भुक्तानी गर्ने गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को नियम १५ ९२ / ४० बमोजिम मृत्यु भइसकेका व्यक्तिले मृत्यु भएको दिनसम्मको भत्ता निजको हकवालाले पाउने उल्लेख छ तर यहाँका स्थानीय तहले भने सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया व्यवस्थित ढङ्गले सञ्चालन नगर्नुका साथै भत्ता पाउन अयोग्य, मृत्यु भइसकेका व्यक्तिको समयमै लगत कट्टासमेत नगर्ने गरेको पाइएको हो । यसले राज्यमाथि भार पर्न गएको भन्दै महालेखा परीक्षकको कार्यालयले पालिकालाई मृतकको खातामा पठाइएको भत्ता रकम असुल गर्न लगाएको छ ।
स्थानीय तहले भने वडाबाट सिफारिस भएर आउने भएकाले यसमा केही त्रुटि भएको स्वीकार गरेका छन् । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानाजान मृतकको खातामा भत्ता निकासा नगरिएको जिकिर गरे। उनले भने, “वडाबाट सिफारिस, मृत्युदर्ता प्रमाणपत्र नभईकन भत्ता रोक्का गर्न सकिँदैन । बढी निकासा भएको पूरै रकम असुल गर्न लगाउने छौँ ।”


भर्खर

गोदावरीमा भीरबाट टेम्पो खसाल्ने कर्मचारीहरु ५ लाख तिरेर छुटे

धनगढी : कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान

कञ्चनपुरमा १८७ मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

कञ्चनपुरः कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय

कैलालीमा खडेरीले नदीनाला सुके

धनगढी : कैलालीका नदीनाला लामो समयसम्म पानी नपरेपछि सुक्न थालेका छन् । जिल्लाको भजनी क्षेत्रमा बर्सेनि