कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै

Thursday March 12, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुरः कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने किसानको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ।

यहाँ सिँचाइ सुविधा नहुँदा ४०० हेक्टरमा खेती हुने गरेको चैते धान अहिले डेढ सय हेक्टरमा मात्रै हुने गरेको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदले हाल कञ्चनपुरमा १५० हेक्टर क्षेत्रमा खेती हुने गरेको बताए। “हामीले किसानलाई विभिन्न किसिमका कृषि उपकरण र सिँचाइका लागि बोरिङलगायतका सुविधा उपलब्ध गराउने गरेका छौँ,” साउँदले भने, “यसका लागि धेरै सिँचाइ आवश्यक हुन्छ, यहाँ सिँचाइ सुविधा उपलब्ध नहुँदा चैते धानखेती घट्दै गएको छ ।”
अधिकृत साउँदका अनुसार ज्ञान केन्द्रबाट किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाइका लागि बोरिङ उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त रुपमा सिँचाइ हुन नसकेको बताए। कृषि ज्ञान केन्द्र कञ्चनपुरले चैते धानखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ, मलखाद, सिँचाइ र जोत्ने उपकरण समेत सहयोग गर्दै आएको छ। “चैते धान अन्य धानभन्दा उत्पादन धेरै हुन्छ,” अधिकृत साउँदले भने, “किसानलाई यहाँबाट प्राविधिकको समेत सहयोग हुन्छ।” चैते धान अन्य धानको तुलनामा बढी फल्ने भए पनि सिँचाइ अभावकै कारण खेती गर्न नसकिएको यहाँका किसानको गुनासो छ। “उत्पादन राम्रो हुन्छ धेरै पानी चाहिन्छ यहाँ सिँचाइका लागि पर्याप्त पानीको सुविधा छैन,” यहाँका किसान खुसीराम चौधरीले भने, “चैत–वैशाखमा महाकाली सिँचाइ नहरमा पानी उपलब्ध हुँदैन बोरिङको पानीले चैते धानलाई पुग्दैन ।”

सिँचाइकै कारण खेत बाँझो रहन थालेपछि चैत धान लगाउन छोडेको उनको भनाइ छ। एकातर्फ सिँचाइ अभाव र अर्कातर्फ छाडाचौपायाका कारण खेती गर्न निकै समस्या हुने गरेको यहाँका अर्का किसान पल्लवराज जोशीले बताए। “सिँचाइको व्यवस्था भइदिए हाम्रो लागि उपयुक्त त चैते धान नै हो,” उनले भने, “चैते धानलाई पानीको आवश्यकता भएको समयमा यहाँ खडेरी हुन्छ ।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालयले पनि कञ्चनपुरमा लक्ष्य अनुसारको धानखेती हुन नसकेको जनाएको छ। कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर रहेको छ। जसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ। यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा ४८ हजार ६०० हेक्टरमा धानखेती हुने गरेको छ। कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ। विसं २०४२ मा सुरु भई२०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ। रासस


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका