कञ्चनपुरका स्थानीय तहको बेरुजु १३ करोडभन्दा बढी
पढ्न लाग्ने समय :
कञ्चनपुर : नौ स्थानीय तह रहेका कञ्चनपुरमा आर्थिक वर्ष २०८१/८२ मा १३ करोड रुपियाँभन्दा बढी बेरुजु आएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ प्रतिवेदनमा आव २०८१/८२ मा यहाँका नौ वटा स्थानीय तहको बेरुजु १३ करोड ८३ लाख १४ हजार रुपियाँ रहेको छ । जबकी अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यहाँका स्थानीय तहको बेरुजु ४० करोड ६० लाख ७१ हजार रुपियाँ थियो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा लालझाँडी गाउँपालिको बेरुजु अत्यधिक रहेको छ । सो पालिकाको १० अर्ब ३१ करोड ८४ लाख तीन हजार रकमको लेखा परीक्षण गरिएकोमा दुई करोड १९ लाख ७४ हजार रुपियाँ अर्थात् २.१३ प्रतिशत बेरुजु देखिएको छ ।
त्यसै गरी भीमदत्त नगरपालिकामा चार अर्ब १९ करोड ७९ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा पाँच करोड ३९ लाख एक हजार अर्थात् १.२ प्रतिशत बेरुजु रहेको छ । भीमदत्तमा आव २०८०/८१ मा १५ करोड एक लाख ६८ हजार रुपियाँ बेरुजु रहेको थियो । बेदकोट नगरपालिकाको आव २०८१/८२ को १८ खर्ब ८८ करोड दुई लाख सात हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा १६ करोड ५० लाख आठ हजार रुपियाँ बेरुजु रहेको छ । जुुन ०.८७ प्रतिशत बेरुजु हो ।
बेदकोट नगरपालिकामा सङ्घ तर्फबाट ४५ करोड ६१ लाख ३४ हजार अनुदान प्राप्त भएकोमा प्रदेशबाट ४५ करोड सात लाख तीन हजार रुपियाँ अनुदान प्राप्त भएको थियो । बेदकोटको आन्तरिक आय ६५ करोड ८५ लाख चार हजार रुपियाँ रहेको छ भने, पालिकाले राजस्व बाँडफाँटबाट १२ करोड ७० लाख ९९ हजार रुपियाँ प्राप्त गरेको थियो ।
बेलौरी नगरपालिकाको एक अर्ब ८१ करोड ८३ लाख ६९ हजारको लेखा परीक्षण गरिँदा ६४ लाख ८० हजार रुपियाँ बेरुजु आएको छ । जुन ०.३६ प्रतिशत बेरुजु हो । आव २०८०/०८१ मा भने, बेलौरी नगरपालिकाको बेरुजु छ करोड ७३ लाख ४७ हजार रुपियाँ आएको थियो । बेलौरी नगरपालिकाले बेरुजु घटाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लामा शुक्लाफाँटा नगरपालिकाको बेरुजु सबैभन्दा कम अर्थात् कुल रकमको ०.३६ प्रतिशत आएको छ । आव २०८१/८२ मा एक अर्ब ८१ करोड ८३ लाख ६९ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा ६४ लाख ८० हजार रुपियाँ बेरुजु आएको छ । जबकी अघिल्लो आवमा शुक्लाफाँटा नगरपालिकाको बेरुजु एक करोड १३ लाख २० हजार रुपियाँ थियो । शुक्लाफाँटाले पनि बेरुजु निरन्तर घटाउँदै लगेको महालेखाको प्रतिवेदनले देखाएको छ । दोधारा चाँदनी नगरपालिकाको आव २०८१/८२ मा एक अर्ब ५२ करोड ८६ लाख ९३ हजार रुपियाँको लेखा परीक्षण गरिएकोमा आठ करोड आठ लाख ३७ हजार अर्थात् ०.८७ प्रतिशत बेरुजु आएको छ तर अघिल्लो आवमा भने दोधारामा तीन करोड ८४ लाख ९५ हजार रुपियाँ मात्रै बेरुजु थियो ।
बेलडाँडी गाउँपालिकाको ९६ करोड ४४ लाख ३७ हजार रुपियाँको लेखा परीक्षणका क्रममा ४६ लाख ७८ हजार अर्थात् ०.४९ प्रतिशत बेरुजु आएको छ । अघिल्लो आवमा बेलडाँडीमा दुई करोड ७२ लाख १७ हजार रुपियाँ बेरुजु देखिएको थियो ।
जिल्लाको कृष्णपुर नगरपालिकाको एक अर्ब ९४ करोड २६ लाख ७८ हजार रुपियाँको लेखा परीक्षणका क्रममा एक करोड ४० लाख ९९ हजार रुपियाँ अर्थात् ०.७३ प्रतिशत बेरुजु आएको छ । अघिल्लो आवमा कृष्णपुरमा चार करोड ७१ लाख १४ हजार रुपियाँ बेरुजु देखिएको थियो ।