कञ्चनपुरका आरक्ष पीडितको माग गूरा गर्ने रवि लामिछानेको प्रतिबद्धता
पढ्न लाग्ने समय :
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष ९हाल राष्ट्रिय निकुञ्ज० बाट विस्थापित पीडितको माग गूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
पीडितहरू सभापति लामिछानेलाई भेट्न सिंहदरबारस्थित संसद् भवनभित्र उनकै कार्यकक्षमा पुगेका थिए । भेटमा आरक्ष पीडितको टोलीले आफ्नो समस्या राखे । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष प्रेमदत्त भट्टले शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा २०५८ सालमा आफूहरूलाई विस्थापित गरिएको स्मरण गराए । त्यसयता ३३ वटा आयोग बनिसके पनि समस्या समाधान नभएको, आयोगलाई दलीय भर्ती केन्द्र बनाएको र आफूहरू अझै सडक र खोला किनारमा अव्यवस्थित र असुरक्षित रूपमा बसिरहेको जानकारी गराए ।
भेटमा कञ्चनपुर २ का सांसद दिपक बोहरा पनि सहभागी थिए । बोहराले यो समस्या आफ्नो क्षेत्रमा विकराल रहेको भन्दै पहल गरिदिन सभापति लामिछानेलाई अनुरोध गरे ।
जवाफमा सभापति लामिछानेले शुक्लाफाँटा आरक्ष पीडितको समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता जनाए । त्यसक्रममा भेटमा सभापति लामिछानेले पीडितहरूलाई माग के हो, के गर्नुपर्यो भन्ने विषय ठोस रूपमा राख्न समेत आग्रह गरेका थिए ।
आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टले संख्या यकिन गरेको देवान विष्टको आयोगको प्रतिवेदन र जग्गा वा पैसा दिन सिफारिस गर्ने सुरेन्द्र बम आयोगको प्रतिवेदन कार्यान्वयन गराई आफूहरूको व्यवस्थापन गर्न अनुरोध गरेका थिए । भट्टले कञ्चनपुरका ९ वटै पालिकाले आरक्ष पीडितलाई कहाँ कहाँ जमिन दिन सकिन्छ भनेर ठाउँहरू सुझाएको पनि जानकारी गराए ।
पीडितबाट समाधानको उपाय सुनेपछि सभापति लामिछानेले ‘ल तपाईंको काम अब सुरु हुन्छ, ढुक्क हुनुस् । धेरै बोलेर होइन गरेर हुने कुरा हो । त्यो प्रतिवेदन खोजी गर्छौं, तुरुन्तै काममा लाग्छौं’ भनेका छन् ।
लगत्तै भूमिमन्त्री प्रतिभा रावल र वनमन्त्री गीता चौधरीलाई फोन गरेर सभापति लामिछानेले शुक्लाफाँटा आरक्षको समस्या तुरुन्त समाधान गर्न निर्देशन दिए । पीडितहरूलाई भूमि मन्त्रालयमा पठाए ।
सभापति लामिछानेलाई भेट्न आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष भट्टसहित पीडितहरू बासुदेव चौधरी, टेकराज पनेरु, जय रोकाया, कृष्ण भट्ट पुगेका थिए । यसैगरी रास्वपाका स्थानीय नेता पनि सहभागी थिए ।