एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीण

Tuesday May 12, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ६१.८१ प्रतिशत उत्तीर्ण भएका थिए । यसपालि ४.१७ प्रतिशतले नतिजामा सुधार आएको हो ।
नियमिततर्फ ४ लाख ३० हजार ६ सय ६७ परीक्षार्थी सहभागी भएकामा २ लाख ८४ हजार विद्यार्थी उत्तीर्ण भए भने १ लाख ४६ हजार ५ सय ७ जना अनुत्तीर्ण भए । अनुत्तीर्ण विद्यार्थीका लागि पूरक परीक्षा १ असारदेखि सञ्चालन हुने परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताएका छन् ।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दै एक महिनाभित्र सार्वजनिक गरिएको २०८२ को एसईई नतिजामा सुधार देखिएको छ ।
यसअघि नतिजा प्रकाशन गर्न ३ महिनासम्म लाग्ने गरेको थियो । यस पटक परीक्षा सकिएको २९ दिनमै नतिजा आएको छ । सरकारले एसईई नतिजा एक महिनाभित्र र कक्षा १२ को नतिजा डेढ महिनाभित्र सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो । विद्यार्थीको सिकाइमा सुधार हुँदै गएको र विद्यालयमा उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था गरिएकाले पनि नतिजामा केही सुधार देखिएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल बताउँछन् । यसपालि जीपीए ३.६० देखि ४ सम्म ल्याउने विद्यार्थीे संख्या ४८ हजार ३ सय ९२ रहेको छ ।
गत वर्ष पनि उक्त जीपीए प्राप्त गर्ने विद्यार्थी संख्या लगभग त्यति नै थियो । जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थी ८० हजार ३ सय ७२ जना छन् । यस्तै २.८० देखि ३.२० जीपीएसम्म ९४ हजार २ सय २२ ले ल्याएका छन् । सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको उक्त जीपीए प्राप्त गरेका हुन् । अघिल्ला वर्षमा पनि सोही जीपीए ल्याउने विद्यार्थीे संख्या बढी रहँदै आएको छ । जीपीए २.४० देखि २.८० सम्म ल्याउने विद्यार्थी ५५ हजार ९ सय ७७ छन् । २.४० भन्दा मुनि २.० सम्म ल्याउने विद्यार्थी संख्या ५ हजार १ सय ९० छ । जीपीए २.० भन्दा मुनि १.६० सम्म ल्याउने विद्यार्थी ७ जना मात्र छन् । गत वर्ष ८ जना थिए ।
समग्र नतिजामा सुधार देखिए पनि प्रदेशगत रूपमा भने असन्तुलन देखिन्छ । बागमतीबाट ७८ प्रतिशत उत्तीर्ण हुँदा सुदूरपश्चिममा ५१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । सुदूरपश्चिम, मधेश, कर्णाली र लुम्बिनीको नतिजा राष्ट्रिय औसत (६६ प्रतिशत) भन्दा कमजोर छ । बागमती, गण्डकी र कोशी राष्ट्रिय औसतभन्दा अगाडि छन् । गत वर्ष राष्ट्रिय औसतभन्दा राम्रो रहेको कर्णाली यस पटक कमजोर देखिएको छ ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।