उदयपुरमा पाठ्यपुस्तक अभाव

Saturday May 6, 2023

पढ्न लाग्ने समय :


उदयपुर । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै एक महिना हुन लाग्दा पनि उदयपुरको सदमुकाम गाईघाटसहित जिल्लाका अन्य बजार क्षेत्रका पुस्तक पसल सञ्चालकले अझै पनि विद्यार्थीलाई पूरै विषयका पाठ्युस्तक वितरण गर्न सकेका छैनन् । विद्याथीर्ले पुस्तक पसलमा किन्न जाँदा केही विषयका पुस्तक अभाव रहेको जवाफ पाउने गरेका छन् । पुस्तक पसल सञ्चालकले विद्यार्थीलाई रित्तै फर्काउने गरेको विद्यार्थीको गुनासो छ ।

त्रियुगा नगरपालिका–१६ सुकौराकी कक्षा १० मा अध्ययनरत पुर्णाकुमारी मगर समयमा पुस्तक नपाएको बताउँछन् । उनले भने, ‘वैशाखको पहिलो हप्तादेखि पठनपाठन सुरु भइसकेको छ, गाईघाटका पुस्तक पसलमा पटक–पटक पुस्तक किन्न गए, सामाजिक अध्ययन, अङ्ग्रेजी र नेपाली विषयका पुस्तक अझै पाउन सकिएको छैन ।’ त्रियुगा नगरपालिका–५ जलजलेस्थित उदयसी स्कुलका कक्षा ९ का विद्यार्थी पङ्कज साहको पनि गुनासो मगरको जस्तै छ । साह भन्छन्, ‘विद्यालयमा पठनपाठन सुरु भएको दुई हप्ता बितिसक्यो, सबै पुस्तक नहुँदा पढ्न समस्या छ, पटक–पटक पुस्तक पसलमा पुस्तक किन्न जाँँदा भोलि वा पर्सि पुस्तक आइपुग्छ भनेर पुस्तक बिक्रेताले भन्नेगर्नुहुन्छ, फेरि पुस्तक लिन आउँदा अहिलेसम्म आएको छैन भनेर भन्नुहुन्छ्, दुःख पाउने काम मात्र भयो ।’

सरकारले यस पटक बेलैमा पाठ्यपुस्तक प्रकाशन भएको र यस पटक पाठ्यपुस्तकको कुनै समस्या नहुने बताए पनि समयमा पाठ्यपुस्तक वितरण नहुँदा विद्यार्थीले समस्या भोग्नु परेको त्रियुगा नमूना मावि गाईघाटका शिक्षक सञ्जय दत्त बताउँछन् । समयमा पुस्तक वितरण हुन नसक्दा विद्यार्थीले समस्या भोग्नु परेको चौदण्डी नगरपालिका–९ जनता मावि हँडियाका अभिभावक दीपेन्द्र चौधरी बताउँछन् । पुस्तक पसल सञ्चालकले समयमा पुस्तक उपलब्ध गराउन नसकेको भन्दै अहिले अभिभावक तथा विद्यार्थीहरुले गुनासो गर्न थालेका छन् ।

नयाँ शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्न लाग्दा पनि पुस्तक पसलल सञ्चालकले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न सकेका छैनन् । न्यौपाने पुस्तक पसल गाईघाटका सञ्चालक विष्णु न्यौपाने भने, ‘विराटनगरबाट वितरण केन्द्रले सबै पुस्तक समयमा नै पठाउन ढिलाइ गर्दा आफूहरुले सबै विषयका पुस्तक विद्यार्थीलाई वितरण गर्न समस्या भएको हो ।’ श्याम पुस्तक पसल गाईघाटका सञ्चालक श्याम साहका अनुसार वितरण केन्द्रको कारण नै सबै पुस्तक प्राप्त गर्न नसक्दा वितरणमा समस्या आएको हो । उदयपुरको कटारी, बेल्टार, गाईघाट क्षेत्रका विद्यार्थीले समयमा पुस्तक प्राप्त नभएको गुनासो गरेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।