अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट, आर्थिक सहायता बढाउनेबारे छलफल

Monday December 9, 2024

पढ्न लाग्ने समय :


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नुभको छ ।

अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एशियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबीचको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माले एमसिसी परियोजना र केही युएसएआईडीको माध्यमबाट नेपालमा सञ्चालित विभिन्न योजनाहरुलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताउनु भयो । उहाँले अमेरिकी विकास वित्त संस्थाबाट नेपालमा निजी क्षेत्रमा शुरु भएको लगानीलाई कसरी बिस्तार गर्ने भन्नेबारेमा पनि दुई नेताबीच छलफल भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग मान्य उपप्रधानमन्त्रीज्युको भेटवार्ता भयो । नेपाल र अमेरिकाबीचको सहयोग आदानप्रदानका विषयमा केन्द्रित भयो । अमेरिकी सहयोगबाट एमसिसी परियोजना र केही युएसएआईडीको माध्यमबाट विभिन्न योजनाहरु कार्यान्वयनमा रहेका छन् । ति कार्ययोजनाको सम्बन्धमा कसरी ति आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा विचारहरु आदानप्रदान भयो । अमेरिकी विकास वित्त संस्थाबाट केही नेपालमा निजी क्षेत्रमा पनि लगानी शुरु भएको छ । त्यसलाई कसरी बढाउन सकिन्छ । ठूलो पोर्टफोलियो नेपालमा आउनसक्ने सम्भावना छ, अहिले केही मात्रामा हामीले शुरु गरेका छौँ । त्यसलाई बिस्तार कसरी गर्न सकिन्छ भन्नेबारेमा केही कुराहरु राख्नुभयो । त्यसमा हाम्रो तर्फबाट निजी क्षेत्रको लगानी प्रोत्साहित गर्ने बारेमा कुरा भएको छ ।’

उहाँले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराउनु भएको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।