सेतीमा आकस्मिक कक्षको दुरावस्था। एक बेडमा तिन जना राख्नु पर्ने बाध्यता
पढ्न लाग्ने समय :
राजन जैगडी ,असोज २२
सुदूरपश्चिमको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा बिरामीको अत्यधिक चापका कारण सेवा प्रवाहमा निकै समस्या रहने गरेको छ । सेती प्रादेशिक अस्पतालले अहिलेसम्म जम्मा ५० बेडको मात्र स्वीकृति पाएको छ । तर, विरामीको अत्यधिक चापका कारण हाल विभिन्न स्रोतबाट तीन सय बेड सन्चालनमा छन् । तर, अस्पतालमा विरामीले छिटोछरितो उपचार सेवा पाउन नसकेको जहिले पनि गुनासो गर्दै आएका छन् । सबैभन्दा समस्या आकस्मिक कक्षमा रहेको छ । हाल ३० बेड सन्चालनमा रहे पनि विरामीको निकै चापका कारण एउटै बेडमा तीन जनासम्म बिरामी राखेर उपचार गराउनु पर्ने बाध्यता छ ।
मंगलबार साँझ सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा विरामी तथा कुरुवाको निकै भीड रहेको थियो । आकस्मिक कक्षका बेडमा कुनैमा दुई र कुनैमा तीन जनासम्म विरामी राखिएका थिए । विरामीले छिटो उपचार पाउन नसकेको गुनासो गरिरहेका थिए । विरामीलाई उपचार गराउन आएका सन्तोस सुनारले डाक्टरले वेवास्ता गरेको गुनासो गर्नुभयो । उहाले बेड अभावका कारण एउटै बेडमा ३ जना विरामीसम्म राख्नु परेको पीडा बताउनु भयोे । उहाँले भन्नु भयो , “प्रदेशको यती ठुलो अस्पताल हो हुनत तर न डाक्टर चिनिन्छन् न नर्स नै ,कोलाई भन्ने कसलाई केही सोध्दा झर्केर बोल्छन्” ।
डडेलधुराको अजयमेरु गाउँपालिकाबाट आमाको उपचार गराउन आएका उमाकान्त भट्टले बेडको अभावमा समस्या भएको सुनाउनु भयो । मुटु रोगबाट पीडित आमालाई उपचार गराउन आफूले निकै सास्ती भोग्नु परेको गुनासो छ । उहाँले भन्नु भयो, बेड नभएका कारण अन्त लैजान भेनेका छन् मुटु रोगी आमा लाई काहाँ लैजाने भन्ने अन्यौता छ ,
डोटीको जोरायल गाउँपालिकाबाट उपचार गराउन आएका बलबिर खड्काले पनि बेडको अभावका कारण सास्ती भोगेको बताउनु भयो । उहाँले डाक्टर चिन्न पनि धौ धौ भएको बताउदै एकै बेडमा तिन जना बिरामी भएका कारण बिरामी लाई सकस भएको गुनासो राख्नु भयो ।
आकस्मिक कक्षको दुरावस्थाबारे सेती प्रादेशिक अस्पतालका आकस्मिक बिभाग प्रमुख डाक्टर समिर खानले बेडको कमी भए पनि बिरामी फिर्ता गर्न नसकिने बताउनु भयो । उहाले सबै विरामीको उपचार गर्नै पर्ने भएकोले एउटै बेडमा तिन जनासम्म बिरामी राख्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।उहाँले ठाउँ भएका कारण सेवा दिन निकै समस्या रहेको बताउनु भयो । नयाँ भवन तयार नभए सम्म यो समस्या समाधान नहुने उहाँको भनाई छ ।
संघीयता लागू भएपछि प्रादेशिक अस्पतालमा स्तरोन्नती भएको भए पनि सेती प्रादेशिक अस्पतालमा अहिले पनि विरामीले सास्ती भोग्नु पर्ने अवस्था विद्यमान नै छ । अस्पताल प्रशासनले दैनिक निकै ठूलो संख्यामा विरामी आउने गरेको र भवन अभावका कारण समस्या हुने गरेको पटक पटक दोहोराएको छ । प्रदेश सरकार र मन्त्रीहरुले पटक पटक सेती प्रादेशिक अस्पतालको अवस्था सुधार्न प्रतिवद्धता व्यक्त गर्दै आउनु भएको छ । तर, सेती प्रादेशिक अस्पतालमा छिटोछरितो र प्रभावकारी उपचार सेवा अझै सपना झै बनेको छ ।