सुदूरपश्चिममा ३० हजार ७८६ जनालाई एचपिभी खोप लगाइने

Thursday February 12, 2026

पढ्न लाग्ने समय :


धनगढी: सुदूरपश्चिम प्रदेशभरी ३० हजार ७८६ जना बालिकालाई  खोप लगाइने भएको छ।

स्वास्थ्य निर्देशानलय दिपायलले कैलालीमा १० हजार ३४३, कञ्चनपुरमा पाँचहजार ५५३, डोटीमा दुई हजार ५८३, बाजुरामा एक हजार ८०६, बझाङमा दुई हजार ४९६, अछाममा दुईहजार ५७८, डडेल्धुरामा एकहजार ५१६, दार्चुलामा एक हजार ४५८ र बैतडीमा दुईहजार ४५३ जना बालिकालाई खोप लगाइने बताएकाे छ।

सुदूरपश्चिम भरिका विद्यालयमा गएर लगाइने खोप कार्यक्रम माघ २७ गतेदेखि फागुन २ गतेसम्म रहेपनि फागुन १५ गतेसम्म छुटेका बालिकाले नजिकको स्वास्थ्य संस्थामा गएर लगाउन सकिने छ।

एचपिभीका विभिन्न प्रकारमध्ये १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले स्थानीय तहसँगको समन्वयमा यो खोप सेवा प्रदान गरेको हो।

यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई दिइने छ। गत वर्ष अभियानको रुपमा चलाइएको खोप कार्यक्रममा प्रदेशभरी एकलाख ४६ हजार ६१२ जना बालिकाहरुले खोप लगाएको उल्लेख गरिएकाे छ।

यस्तै, गत वर्षको खोप कार्यक्रममा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूले पनि यो खोप पाउने व्यवस्था मिलाइएको छ।

यस वर्ष सरकारले देशभर करिब चार लाख छात्रालाई खोप दिने लक्ष्य राखेको छ। पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याका रूपमा रहन नदिन खोप, स्क्रिनिङ र उपचार गरी तीन चरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुनुपर्छ। यी हरेक चरणमा ९० प्रतिशत लक्ष्य हासिल गर्ने सरकारको योजना छ।

१० देखि १४ वर्षसम्मका किशोरीले एचपिभी खोप लगाउनु रोकथामको पहिलो उपाय हो। दोस्रो उपायका रूपमा ३० वर्षभन्दा माथिका महिलाले नियमित परीक्षण (स्क्रिनिङ) गराउनुपर्छ भने तेस्रो चरणमा रोग पहिचान भएका महिलाको उचित उपचार हुनुपर्छ।

नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ। परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा प्रत्येक दिन चार महिलाको मृत्यु हुने गरेको छ।

यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को सङ्क्रमणबाट हुन्छ। संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने यो भाइरसको सङ्क्रमण २० वर्षसम्म रहिरहेमा क्यान्सरको रूप लिन सक्छ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका