सुदूरपश्चिममा काँग्रेसको साथ छोड्दै एमाले
पढ्न लाग्ने समय :
धनगढीः सुदूरपश्चिममा अहिले काँग्रेसका कमलबहादुर शाहको नेतृत्वमा नेकपा एमाले सहितको गठबन्धन सरकार छ।
तर, नेकपा एमालेका नेता सरकार तथा मुख्यमन्त्रीको कार्यशैली प्रति बेखुस छन्। एमालेले काँग्रेससँगको सत्ता साझेदारी समाप्त गर्दै नेकपासँग सत्ता साझेदारी गर्ने किसिमले कुराकानी अगाडि बढाएको छ। केन्द्रमा सहमति जुटेमा एमालेले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने र नेकपासँग सत्ता साझेदारी गर्ने भएको बताइएको छ।
पार्टी अध्यक्ष केपी ओलीसँगको छलफलपछि मात्रै प्रदेश सरकारमा बसी रहने या नयाँ सरकार निर्माणका लागि अर्को गठबन्धन गर्ने भन्ने कुराको टुङ्गो लाग्ने एक जना प्रदेश सभा सदस्यले बताए। उनका अनुसार बुधवार अध्यक्ष ओलीसँग हुने छलफलबाट संसदीय दलको नेता, प्रदेश सरकार र बजेट निर्माणबारे ठोस निष्कर्ष आउने छ।
सुदूरपश्चिम प्रदेश सभामा एमालेका ११ जना र नेकपाका २२ जना सांसदमध्ये एकजना निलम्बित छन्। नेकपा र एमालेले सत्ता साझेदारी गरेमा उनीहरूसँग सरकार निर्माण गर्न स्पष्ट बहुमत छ।
एमाले अध्यक्ष ओलीले काँग्रेसको साथ छोड्ने निर्देशन दिएमा हाल प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने छ।