संसद पुनःस्थापना हुनुपर्छ– काँग्रेस सुदूरपश्चिम
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी, असोज ८ गते । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशले संसद पुनःस्थापना गर्नुपर्ने माग गरेको छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, राष्ट्रिय सभा सदस्य तथा जिल्ला सभापतिहरूको बैठकले संसद पुनःस्थापनाका साथै संसदबाट संविधान संशोधन गर्नुपर्ने अडान लिएको छ ।
बुधबार काँग्रेसको सुदूरपचिम प्रदेशको बृहत बैठकका निर्णय सार्वजनिक गरेको हो । काँग्रेसको प्रदेश प्रवक्ता सुरत बहादुर रावतले प्रधानमन्त्रीको सिफारिसमा भएको संसद विघटन अमान्य रहेको र पुनःस्थापना हुनुपर्ने साझा धारणा बनेको जानकारी दिए ।
बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा र आरजू राणा देउवामाथि भएको आक्रमणको भत्र्सना गर्दै, हिंसामा संलग्नहरूलाई कारबाहीको माग समेत गरेको छ ।
बैठकले नेतृत्व विरुद्ध तत्काल कुनै पनि किसिमको गतिविधि नगर्न सबैमा सचेत गराएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रावतले भने– नियमित महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने कुरा भएकाले अल्पमत वा बहुमत हस्ताक्षर वा विशेष महाधिवेशनको कुरा गर्ने अहिले बेला होइन । अहिले पुनःनिर्माणमा जुट्न र शान्ति र सद्भाव कायम गर्न सबै अग्रसर हुने बेला हो ।
पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय सदस्य नृप बहादुर ओडले संसद पुनःस्थापना नै पहिलो माग रहेको बताउँदै अहिले पार्टीमा नयाँ नेतृत्वबारे बहस गर्ने बेला नभएको दाबी गरे ।
पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश संरचना बलियो बनाउन आवश्यक रहेको बताए । उनले वर्तमान सरकारले प्रदेश संरचना बलियो बनाउन आवश्यक परे संविधान संशोधन गरे पनि समर्थन गर्ने स्पष्ट पारे ।
मुख्यमन्त्री शाहले संघीय अर्थ मन्त्रालयले जारी गरेको खर्च कटौती सम्बन्धी परिपत्रबारे असन्तुष्टि व्यक्त गरे । उनले भने– प्रदेश सभाले पारित गरेको कानुनलाई संघीय मन्त्रीपरिषद्को निर्णयले कटौती गर्न मिल्दैन । मन्त्रीपरिषद्को निर्णयले प्रदेश सभाको अधिकार कुण्ठित गर्न नमिल्ने उनको भनाई छ ।