मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित

Saturday May 4, 2024

पढ्न लाग्ने समय :


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेश सभा बैठक स्थगित गरिएको छ।

आज अपराह्न ५ः३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए। यसअघि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गरिएको थियो।

सत्तासाझेदार नेकपा एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने÷नपाउनेमा अझै स्पष्ट हुन सकेको छैन। आज बस्ने प्रदेश सभाको बैठकबारे सबै प्रदेशसभा सदस्यलाई प्रदेशसभा सचिवालयले सूचना गरे पनि एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल काठमाडौँ गएका बताइएको छ। एमाले अनुपस्थित भएपछि शुक्रबारको बैठक स्थगन गरिएको थियो।

सत्ता साझेदार माओवादी केन्द्र संसदीय दलका नेता मानबहादुर धामीले बिहीबार बिहानसम्म एमालले मुख्यमन्त्रीलाई विश्वासको मत दिनेमा स्पष्ट देखिए पनि त्यसपछि विश्वासको मतका बारेमा धारणा बदलेको बताए। उनले भने, ‘एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल आज काठमाडौँ जानुभएको भन्ने सुनिएको छ, उहाँ फर्किएर आएपछि विश्वासको मत दिनुहुन्छ होला, यही समीकरण अगाडि बढ्छ।’

सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको छ। शुक्रबार प्रदेश सभाको बैठक आह्वान गरिएपछि नागरिक उन्मुक्ति पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले मुख्यमन्त्री सोडारीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए।

सोडारी नेतृत्वको सरकारमा नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधर दुई प्रदेशसभा सदस्य मन्त्री छन्। नाउपा अध्यक्ष रञ्जिता अहिलेकै सत्तागठबन्धनलाई सहयोग गर्नुपर्ने पक्षमा र संरक्षक रेशमलाल चौधरी नेपाली कांग्रेससहितको गठबन्धनको पक्षमा छन्। सो पार्टीमा देखिएको आन्तरिक विवादकै कारण संस्थापक संरक्षक पक्षधर पाँच सदस्यको तर्फबाट प्रमुख सचेतक डगौराले विपक्षमा मत दिन ह्वीप लगाएका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।