माओवादी शक्ति एक भए २०६४ को निर्वाचनको जस्तै परिणाम ल्याउन गाह्रो छैनः प्रधानमन्त्री

Thursday August 17, 2023

पढ्न लाग्ने समय :


दोरम्बा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा आयोजित २०औं दोरम्बा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले माओवादी शक्ति एक भए २०६४ को निर्वाचनको जस्तै परिणाम आउने बताए । प्रधानमन्त्रीले समाजवादीका निम्ति रुपान्तरणको शान्तिपूर्ण अभियाानमा जुटेको बताए ।

उनले भने, ‘फेरि जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध एकाकार भएर समाजवादी क्रान्ति सफल बनाउन आवश्यक छ । आगामी तीन महिनामा नयाँ एउटा वातावरण बन्छ, बन्छ । अर्को ३ महिनामा हाम्रो पार्टी जीवन्त पार्टीका रूपमा आउँछ । त्यसो भयो भने २०६४ को निर्वाचनको जस्तै परिणाम ल्याउन गाह्रो छैन ।’

उनले सरकार मुलुकमा व्याप्त विकृति र विसंगतिको अन्त्य गर्न लागिपरेको बताए । प्रधानमन्त्रीले सरकार मुलुकमा भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासका लागि अघि बढिरहेको भन्दै भन्दै गठबन्धनमा कुनै समस्या नभएको बताए ।

उनले भने, ‘प्रतिक्रियावादीहरूले चलाएको बाहिरी हल्लाको पछि नलाग्न म तपाईंहरूलाई आग्रह गर्दछु ।’ प्रधानमन्त्रीले ‘शान्ति सहकार्य र एकता’को सन्देशसहित मुलुकलाई नयाँ युगतिर लैजान आवश्यक रहेको बताए । सरकारले ठूला आयोजना निर्माणमा ध्यान केन्द्रित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने पनि बताए ।

उनले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न सरकार क्रियाशील रहेको भन्दै दोरम्बा हत्याकाण्ड शान्ति प्रक्रिया भाँड्नका लागि गराइएको सुनियोजित र कायरतापूर्ण हत्याकाण्ड भएको बताए ।

२० वर्षअघि आजकै दिन २०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहँदा रामेछापको दोरम्बामा सेनाले २१ जना माओवादी नेता कार्यकर्ताको सामूहिक हत्या गरेको थियो। त्यही घटनापछि दोस्रो चरणको युद्धविराम भंग भएको थियो भने तत्कालीन राजा ज्ञानेन्द्र प्रत्यक्ष शासनमा आएका थिए ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका