बाजुरामा बाढीपहिरोको त्रास
पढ्न लाग्ने समय :
बाजुरा : बर्खा सुरु भएसँगै बाजुराका अधिकांश स्थानीयमा बाढीपहिरोको त्रास बढेको छ। जिल्लाका धेरै बस्ती खोला किनार र भिरालो भूभागमा रहेकाले प्रत्येक वर्ष वर्षायाममा बाढी र पहिरोको जोखिम सामना गर्नुपर्ने अवस्था छ।
बर्खामा माथिबाट पहिरो र तलबाट बाढी आउने जोखिमका कारण स्थानीयवासी रात कटाउनसमेत त्रसित हुने गरेका छन्। हिउँदमा ढुक्कसँग बसोबास गर्ने स्थानीय वर्षायाम सुरु भएसँगै घरमै बस्नसमेत डराउन थालेका छन्।
गत वर्ष हिमाली गाउँपालिकाको विच्छ्या खोलामा आएको बाढीबाट झन्डै दुई सयभन्दा बढी घरपरिवार प्रभावित भएका थिए। यस वर्ष भने बुढीनन्दा नगरपालिका–१ हरिकवलका २२ दलित परिवार पहिरोको प्रत्यक्ष जोखिममा परेका छन्।
गत जेठ १४ गते साँझ गाउँमाथिबाट आएको पहिरोले ती २२ परिवारका घरमा क्षति पुर्याएको थियो। घटनाको दुई महिनापछि पनि उनीहरू त्रिपालमुनि बस्न बाध्य छन्। सुरक्षित आवासको व्यवस्था हुन नसक्दा वर्षायाममा उनीहरूको समस्या झन् बढेको छ।
त्यस्तै त्रिवेणी नगरपालिका–९ का केही बस्ती पनि पहिरोको उच्च जोखिममा रहेका छन्। घरमुनिबाट पहिरो खस्न थालेपछि बसोबास गर्न कठिन भएको स्थानीय राजु मिजारले बताए।
उनले भने “ऋण गरेर बनाएको घर पहिरोले भत्काइदियो। अब कहाँ गएर बस्ने भन्ने चिन्ता छ।” भिरालो भूभागमा बस्ती रहेको र सडक निर्माणका क्रममा डोजर प्रयोग गर्दा जोखिम झन् बढेको उनको भनाइ छ।
स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, बुढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका विभिन्न बस्ती पनि बाढीपहिरोको जोखिममा छन्। खप्तड छेडेदह गाउँपालिकाको गुम्लागाउँ, पाटा तथा बुढीगङ्गा नगरपालिकाको बजेडी र अम्कोटका स्थानीय पनि वर्षायाममा सुरक्षित रूपमा रात कटाउने चिन्तामा छन्।
जिल्लामा २०६७ सालयता १३५ भन्दा बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा परेको तथ्याङ्क छ। जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि स्थानीयवासीले पटक–पटक सरकारसँग माग गर्दै आए पनि हालसम्म प्रभावकारी पहल हुन सकेको छैन।
जोखिममा रहेका बस्तीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ। कतिपय बस्तीका स्थानीय वर्षायाममा अस्थायी रूपमा सुरक्षित स्थान वा लेकतिर बसाइँ सर्ने र हिउँदमा पुनः गाउँ फर्कने गरेका छन्।
त्रिवेणी नगरपालिका–९ का वडा अध्यक्ष नन्दबहादुर थापाले बाढीपहिरोका कारण धेरै घर जोखिममा परेको बताउँदै तत्काल बस्ती स्थानान्तरण सम्भव नभएकाले संरक्षणका उपाय अपनाउन लागिएको जानकारी दिए। उनले भने, “अहिले बस्ती सार्न सकिने अवस्था छैन। जोखिममा रहेका घर जोगाउन तारजाली र ग्याबिन पर्खाल निर्माणको पहल भइरहेको छ।” उनका अनुसार साउनको पहिलो सातादेखि जोखिमयुक्त स्थानमा ग्याबिन जाली राख्ने तथा संरक्षणका अन्य काम सुरु गरिनेछ।
जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार जिल्लाका १३५ भन्दा बढी बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था छ। त्यसका लागि स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरी गृह मन्त्रालयमा पठाइएको भए पनि स्थानान्तरणसम्बन्धी थप निर्णय भने प्राप्त भएको छैन।