बाँकेका घरबासमा आन्तरिक पर्यटकको चहलपहल

Monday May 13, 2024

पढ्न लाग्ने समय :


राँझा (बाँके) । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक होमस्टे र राप्तीसोनारीको नयाँ गाउँ होमस्टेमा आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए ।

“नेपालगञ्ज, कोहलपुरलगायतका सहरी क्षेत्रबाट गर्मी छल्न होमस्टे आउने चलन बढ्दै गएको छ”, चौधरीले भने, “पूर्व–पश्चिम राजमार्ग क्षेत्र नजिकै भएकाले बाँके र बर्दियामात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढीमात्रामा होमस्टेमा पाहुना घुम्न आउने गरेका छन् ।”

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब पाँच सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । “यतिबेला बाहिरी जिल्लासँगै नेपालगञ्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्”, चौधरीले भने, “एकपटक यहाँ आएका पाहुनाहरु फेरि फर्किएर आउने गर्नुभएको छ ।”

गाभर होमस्टे आउने पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र जङ्गल सफारीको व्यवस्था गर्ने गरिएको छ । स्थानीय स्वादसँगै प्राकृतिक मनोरममा पाहुना आकर्षित हुने गरेको च्यामा होमस्टेका सञ्चालक गणेश दहितले बताए ।

बाँके, बर्दियासँगै काठमाडौँबाट पाहुना घुम्न आउने गरेको उनको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगरबाट गर्मी छल्न च्यामा होमस्टे पुगेका प्रज्ज्वल जोशीले समय मिलाएर होमस्टे घुम्न आउने गरेको बताए ।

बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफू कहाँ आउने गरेको नयाँगाउँ सात नं होमस्टेकी सञ्चालक शोभी थारूले बताए । होमस्टे आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोंगीलगायत स्थानीय प्राङ्गारिक परिकारले स्वागत सत्कार गर्ने गरेको उनको भनाइ छ ।

नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँ भएकाले नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रबाट यहाँ दैनिकजसो पाहुनाको चहलपहल हुने गर्दछ ।

होमस्टे नजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार रहेकाले पनि आन्तरिक पर्यटकको चहलपहल हुने गरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताए ।

बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । विसं २०७० मा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमुना घरबासका रुपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताए ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत