प्रधानमन्त्रीको अपिल: सुनसरी घटनाका दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्तिको प्रतिबद्धता

Wednesday July 29, 2026

पढ्न लाग्ने समय :


प्रधानमन्त्री बालेन शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कानुनबमोजिम कारबाही गरिने र पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्।

प्रधानमन्त्री शाहले जारी गरेको सम्बोधनमा सामान्य विवादका रूपमा सुरु भएको घटनाले हिंसाको रूप लिँदा अमूल्य मानवीय जीवन गुम्नु अत्यन्त दुःखद भएको उल्लेख गरेका छन्। उनले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

“प्रधानमन्त्रीका रूपमा मात्र होइन, यस देशको एक नागरिकका रूपमा पनि म सुनसरीमा भएका घटनाप्रति अत्यन्त दुःखी छु,” उनले भनेका छन्। शोकमा रहेका परिवारको पीडा आफूले गहिरो रूपमा महसुस गरेको उल्लेख गर्दै सरकारले यथाशीघ्र न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक निर्णयहरू तत्काल गरिरहेको जानकारी दिँदै सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु वा घाइते हुनु कुनै पनि दृष्टिले स्वीकार्य नभएको स्पष्ट पारेका छन्। घटनाबारे अनुसन्धान सुरु भइसकेको र अनुसन्धानबाट दोषी ठहरिने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने उनले बताएका छन्।

उनले सरकार, कानुन र न्याय प्रणालीप्रति विश्वास राख्न आग्रह गर्दै दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन्। साथै, सम्पूर्ण घटनाको गम्भीर समीक्षा भइरहेको र भविष्यमा यस्ता घटना हुन नदिन जिम्मेवार तथा प्रभावकारी कदम चालिने उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले मृतकका परिवार, घाइते तथा उनीहरूका परिवारलाई न्यायको अनुभूति गराउन सरकार आफ्नो सम्पूर्ण शक्ति र स्रोत परिचालन गर्न प्रतिबद्ध रहेको बताएका छन्। त्यसबेलासम्म सबैलाई संयम अपनाउन, आक्रोश, प्रतिशोध र उत्तेजनाबाट टाढा रहन उनले आग्रह गरेका छन्।

“मानिसको पहिलो धर्म मानव जीवनको रक्षा गर्नु हो,” उनले भनेका छन्, “सरकारको पहिलो दायित्व आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्नु, दोषीलाई कानुनी दायरामा ल्याउनु र पीडितलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउनु हो।”

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले सबै नागरिकलाई दुःख, रिस, भय वा आक्रोशलाई हिंसाको माध्यम बन्न नदिन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी एकता र शान्तिको संरक्षण आजको सबैभन्दा ठूलो जिम्मेवारी भएको बताएका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।