परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय

Monday March 25, 2024

पढ्न लाग्ने समय :


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मनिराम डगौरा आज बिहानै होल्का (होलिका) जलाएको ठाउँबाट खरानी ल्याएर घर आएका छन् ।

होलीको रङ लगाउनुअघि उनले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा(देवस्थान) मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिए ।

होलिका जलाउने कार्यलाई थारु भाषामा ‘होल्का डुङ्ना’ भन्ने गरिन्छ । वर्षौं पुरानो यो चलन थारु समुदायमा पुस्तान्तरण हुँदै अहिले पनि रहिआएको मनिरामले बताए ।

होल्का जलाएको खरानी घरपरिवारमा प्रसादका रुपमा लगाएपछि मात्रै रङको होली खेल्ने परम्परा यहाँका थारु समुदायमा रहेको उनले जानकारी दिए ।

आइतबार साँझ मनिरामलगायत गाउँका थारु समुदायले देउथानमा होलिका जलाउने कार्य गरेका थिए । जल्दै गरेको होलिकाबाट गुइँठामा आगो ल्याएर घरमा नयाँ आगो भित्र्याइएको मनिरामले बताए ।

“हिजो बिहानै वरघरको घरमा जम्मा भयौँ”, उनले भने, “तेल, गुड, ल्वाङ र गहुँको पिठोमा मिसाएर निरहार रहेका गाउँका एक जनालाई बम्ना (बाहुन) बनाएर एकपल्टे (एकातर्फ मात्रै पाकेको) रोटी पकायौँ । बेलुका गाउँको देउथानमा परम्परागत विधिअनुसार होल्का डुङ्ना गरेपछि नयाँ आगो भित्र्याएका छौँ ।”

नयाँ आगो घरमा ल्याएपछि कुल देवताको स्मरण गर्दै मदिरा, जल, अगरबत्तीलगायत चढाएर पूजा गरेपछि चुल्होमा नयाँ आगो बाल्ने कार्य गरिएको मनिरामले बताए ।

उनका अनुसार देउथानमा बालेको नयाँ आगो घरघरमा भित्र्याउने चलन थारु समुदायमा छ । होलीका बेला भित्र्याइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधी हटेर जाने जनविश्वास रहेको उनले बताए ।

“सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठलगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ । थारु गाउँका गुरुवा, वरघरघरियाले देउथानमा रोटी, गुडले पूजा गरी दियो बालेपछि परिक्रमा गर्दछन् । यसरी परिक्रमा सकेपछि उक्त थुम्कोमा आगो लगाउने गर्दछन्”, स्थानीय गहनु चौधरीले बताइन् ।

आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिएको उनले बताए । आगो लगाउन आएका सबैलाई रोटी र गुड प्रसादका रुपमा समान बाँड्ने चलन रहेको उनले जानकारी दिए ।

घरघरमा आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ । आगलागीलगायत घटना नहुन् भनेर बाटोमा छुटेको आगो निभाइने चौधरीले बताए ।

होलीका जलाएको ठाउँमा आज गाउँका महिला तथा पुरुषले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र उक्त ठाउँ सफा गरेका छन् ।

घर परिवारमा खरानीको टिका लगाइसकेपछि होलीको रङ लगाएर एक आपसमा खुसियाली साटासाट गर्ने र होली खेल्ने काम भइरहेको जोनापुर गाउँका भलमन्सा सुरेश चौधरीले बताए ।

“यतिबेला एक अर्कामा रङ लगाउँदै ढोगसलाम गर्ने काम भइरहेको छ”, उनले भने, “रमाइलोका लागि विगतको जस्तो हिलो छयाप्ने कामलाई निरुत्साहित गर्दै आएका छौँ ।”

रङ लगाएर रमाइलो गर्ने, नाचगानसहित खुसियाली साटासाट गर्ने प्रक्रिया भालिसम्म जारी रहने चौधरीले बताए ।

होलीका अवसरमा गाउँका मान्यजनबाट रङको टिका लगाउने र आर्शीवाद लिने चलन पनि थारु समुदायमा रहेको उनको भनाइ छ ।


भर्खर

गोदावरीमा भीरबाट टेम्पो खसाल्ने कर्मचारीहरु ५ लाख तिरेर छुटे

धनगढी : कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान

कञ्चनपुरमा १८७ मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

कञ्चनपुरः कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय

कैलालीमा खडेरीले नदीनाला सुके

धनगढी : कैलालीका नदीनाला लामो समयसम्म पानी नपरेपछि सुक्न थालेका छन् । जिल्लाको भजनी क्षेत्रमा बर्सेनि