देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम बढ्न सक्ने

Friday August 7, 2026

पढ्न लाग्ने समय :


देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षासँगै बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। अहिले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेश तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा आंशिक बदली छ। बागमती र कर्णालीका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमाली क्षेत्रमा वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ। तराईका केही क्षेत्रमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी, पहिरो, डुबान, भूक्षय र गेग्रान बहावको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचनालाई नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।