देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३० जना पक्राउ
पढ्न लाग्ने समय :
काठमाडौं, कञ्चनपुर र चितवनका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ३० जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ गोंगबु मित्रनगरस्थित ५३ वर्षीय विष्णु राईले सञ्चालन गरेको खोटाङ गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा विष्णु राईसहित ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रभाग नयाँ बसपार्क, गोंगबुबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद १ लाख २७ हजार ८ सय २० रुपैयाँ र १० बुक तास बरामद गरेको जनाएको छ।
यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्याउलेस्थित ४४ वर्षीय टेकबहादुर साउदको घरमा जुवातास खेलिरहेको अवस्थामा टेकबहादुरसहित १६ जनालाई सोमबार राति पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय झलारीसहितको प्रहरी टोलीले उनीहरूको साथबाट २७ हजार ५ सय भारतीय रुपैयाँ तथा ३२ हजार ७ सय ८० नेपाली रुपैयाँ बरामद गरेको छ।
त्यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१० स्याउली बजारस्थित ५८ वर्षीय राकेश श्रेष्ठको घर पछाडि जुवातास खेलिरहेको अवस्थामा राकेश श्रेष्ठसहित ६ जनालाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ९० हजार ७ सय रुपैयाँ र ३ बुक तास बरामद गरेको छ।
यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।