दुई वर्षभित्र सबैलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क : स्वास्थ्यमन्त्री बस्नेत

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क उपलब्ध गराउने योजना रहेको बताएका छन् ।

औषधि व्यवस्था विभागले आयोजना गरेको फर्मासिष्ट व्यवसायीहरूका लागि कुशल फार्मेसी सञ्चय भण्डार एवं अभ्याससम्बन्धी ‘क्षमता अभिवृद्धि तालिम’को अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा अन्य विभिन्न शीर्षकका बजेट घटाएर भए पनि नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुल्क र प्रभावकारीको पहुँच अभिवृद्धि गरिने स्पष्ट पारे ।

‘मैले दुई वर्षभित्रमा हालकै स्रोतसाधन, चुहावट नियन्त्रण, फजुल खर्च र अनुत्पादक क्षेत्रको रकम कटौती गरेर भए पनि जनताको आधारभूत स्वास्थ्य सेवा निःशुल्क र प्रभावकारी बनाउने विषयमा जोड दिएको छु’, स्वास्थ्यमन्त्री बस्नेतले भने, ‘हामी सबै ठीक ढंगले काम गर्न सक्यौँ भने मन्त्रालयको हालकै स्रोत र साधनबाट धेरै काम गर्न सकिन्छ ।’

मन्त्री बस्नेतले अहिले पनि देशभर गरिब, निमुखा र असहाय नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न आफू लागिपरेको भन्दै समाजमा त्यस्ता समस्यामा परेका व्यक्ति भए सम्पर्क गराइदिन पनि अनुरोध गरे । उनले स्वास्थ्य क्षेत्रको बेथिति सुधार गरी जनतालाई सरल र सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे ।

उनले भने, ‘धेरै स्वास्थ्यकर्मी दुर्गम गाउँसम्म नपुगेको सुगममा काज लिएको भन्ने गुनासो छ, भनसुन र पहुँचका आधारमा अब त्यो चल्दैन, बेथिति अन्य गरी थिति बसाल्न सबै लागौँ स्वास्थ्यकर्मीलाई गाउँसम्म पुर्‍याउनेअभियानलाई निरन्तरता दिन्छु ।’

मन्त्री बस्नेतले हाल वीर अस्पतालमा लागू गरिएको बिहान ८ बजेदेखि सुरु हुने ओपिडी सेवा क्रमशः देशभर विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए । स्वास्थ्यमन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बेथिति मौलाएको, मानवीय स्वास्थ्यमा जोखिम बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए।

उनले फार्मेसी सञ्चालन र भण्डारण पारदर्शी नभएको कतिपय औषधि कम्पनीले दर्ता र नवीकरण नगरेको र मापदण्डअनुरुप बिक्री वितरण नगरेको पाइएकाले मन्त्रालयले अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने बताए ।

मन्त्री बस्नेतका अनुसार मन्त्रालयले हालै काठमाडौँ उपत्यकामा एक सय फार्मेसी अनुगमन गर्दा एउटा फार्मेसी मात्रै मापदण्ड अनुसार सञ्चालन भएको पाइएको बताए । औषधिजस्तो संवेदनशील विषयको लापरबाही तवरले बिक्री वितरणले मानवीय स्वास्थ्यमाथि खेलबाड भइरहेकाले यस्तो बेथिति नियन्त्रणका लागि मन्त्रालयले हदैसम्मको निर्णय लिने उनको भनाइ थियो ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन २०३५ ले व्यवस्था गरेको उद्देश्य र मापदण्डअनुरुप औषधि बिक्री वितरण र भण्डारणलाई व्यवस्थित र प्रभावकारी बनाउन विभागले अनुगमन र नियमनको कामलाई तीव्रता दिएको उल्लेख गरे ।

विभागले गरेको अनुगमनका क्रममा धेरै औषधि पसल बिना दर्ता सञ्चालनमा पाइएको र लागुऔषध र दुव्र्यसनीसम्बन्धी औषधि जथाभावी रुपमा बिक्री वितरण गरेकोले त्यस्ता औषधि पसललाई आवश्यक कारबाही गरिएको बताए ।

नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले मूल्य एकरुपता कायम गरेर देशका कुनाकुनासम्म सहज रुपमा औषधि अभाव हुन नदिन सङ्घले पहल गरिरहेको जानकारी दिए।

तीन दिने तालिममा फार्मेसी व्यवसायलाई चुस्तदुरुस्त तथा थप गुणस्तरीय बनाइ कुशल फार्मेसी, भण्डार र वितरण अभ्यासलाई प्रभावकारी बनाउने विषयमा विज्ञहरुले प्रक्षिण दिनेछन्। तालिमले फार्मेसी सेवालाई स्तरोन्नत्ति गर्ने, मापदण्डअनुरुप सेवा विस्तार गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको