डडेल्धुरा जीप दुर्घटना– मृत्यु हुनेको संख्या ५ पुग्यो
पढ्न लाग्ने समय :
न्युज नेपाल समाचार
धनगढी,भदौ १३/ डडेल्धुरामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ । बिहीबार बिहान नवदुर्गा गाउँपालिका–५ स्थित चौडमा भएको दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
यस्तै दुर्घटनामा घाइते भएका ४२ वर्षका गणेशबहादुर साउदको पनि बिहीबार राति धनगढीको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक डम्बरबहादुर विष्टका अनुसार घाइते अरू तीन जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । यस्तै जिप चालक ३५ वर्षका रामबहादुर साउदलाई थप उपचारका लागि भारतमा लगिएको छ ।
दुर्घटनामा परेर नवदुर्गा गाउँपालिका–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउँदको घटनास्थलमै मृत्यु भएको थियो । ठाँटाबजारबाट जिल्ला सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप भित्री कच्ची सडक खण्डबाट करिब दुई सय ५० मिटर तल खसेको थियो ।