डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना

Monday April 13, 2026

पढ्न लाग्ने समय :


डडेल्धुराः डडेल्धुरा सार्वजनिक पुस्तकालयले ‘डोट्याली सङ्ग्रहालय’ स्थापना गरेको छ।

विक्रम संवत् २०६१ मा स्थापना भएको पुस्तकालयले २०७३ सालदेखि सुदूरपश्चिमको परम्परागत जीवनशैली, रहनसहन र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यसहित सङ्ग्रहालयमार्फत पुराना सामग्री सङ्कलन र संरक्षण गर्ने काम सुरु गरेको हो। पछिल्लो समय ग्रामीण समाजमा प्रयोग हुँदै आएका परम्परागत सामग्रीहरू क्रमशः लोप हुँदै गएका छन्।

बजारको विस्तार, आधुनिक जीवनशैलीको प्रभाव र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण घरघरमा रहेका पुराना वस्तुहरू हराउँदै गएका छन्। यही अवस्थालाई मध्यनजर गर्दै पुस्तकालयले हराउँदै गएका सामग्रीहरू एकै ठाउँमा सुरक्षित राख्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरेको पुस्तकालयका कार्यालय प्रमुख पुष्करबहादुर देउवाले जानकारी दिए।

उनका अनुसार सङ्ग्रहालय स्थापना गर्नुको मुख्य उद्देश्य पुर्खाहरूले प्रयोग गरेका सामग्रीहरू सुरक्षित राख्दै भावी पुस्तालाई आफ्नो मौलिक पहिचानसँग परिचित गराउनु हो। उनका अनुसार पुराना लुगा, गरगहना, दैनिक प्रयोगका सामग्री तथा परम्परागत हतियारहरू क्रमशः हराउँदै गइरहेकाले ती सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राख्ने काम अघि बढाइएको छ।

सङ्ग्रहालयमा हाल विभिन्न प्रकारका परम्परागत सामग्रीहरू राखिएका छन्। कृषिसँग सम्बन्धित हलो, जुवा, नाम्लो, दाम्लो जस्ता उपकरणहरूदेखि निगालो र बाँसबाट बनेका डालो, सुप्पो, भकारी जस्ता अन्न भण्डारणका सामग्रीहरू यहाँ समेटिएका छन्। यी सामग्रीहरूले पुरानो कृषि प्रणाली र ग्रामीण जीवनशैलीको झल्को दिन्छन्।
त्यसैगरी, गुन्यूचोलो, पैसाको माला, अठन्नी–चौअन्नी जस्ता गहनाहरूले विगतको सामाजिक र सांस्कृतिक अवस्थालाई झल्काउने अमरगढी नगरपालिका–५ का कामदेव ओझाले बताए। विवाह संस्कारसँग सम्बन्धित डोली, जाँतो, ढिक्की तथा समय मापनका लागि प्रयोग हुने घडीपला जस्ता सामग्रीहरू पनि सङ्ग्रहालयमा राखिएको र तिनले पुरानो पुस्ताको जीवनशैलीबारे प्रत्यक्ष जानकारी दिने उनले उल्लेख गरे।

सङ्ग्रहालय स्थापना गर्ने अवधारणा २०७३ सालमा अघि सारिएको र सुरुआती चरणमा डिभिजन वन कार्यालयको सहयोगमा काम सुरु गरिएको पुस्तकालयका अध्यक्ष गजेन्द्र साहीले बताए। यसपछि अमरगढी नगरपालिकाबाट आर्थिक सहयोग प्राप्त भएको र पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिबाट समेत केही सामग्री प्राप्त भई सङ्ग्रहालय थप समृद्ध बन्दै गएको उनले बताए।

सङ्ग्रहालयका लागि सामग्री सङ्कलन गर्ने कार्य अझै जारी रहेको छ। साहीका अनुसार गाउँ–गाउँमा पुगेर पुराना सामग्री खोज्ने, आवश्यक परे मूल्य तिरेर ल्याउने तथा स्वेच्छिक रूपमा प्राप्त सामग्रीहरूलाई दाताको नामसहित सङ्ग्रहालयमा राख्ने अभ्यास गरिएको छ।

यद्यपि, सामग्री सङ्कलनका क्रममा केही चुनौतीहरू पनि देखिएका छन्। देउवाले पछिल्लो समय व्यापारीहरूले स्टिल र प्लास्टिकका भाँडाकुँडासँग साटेर पुराना कासा र तामाका भाँडाहरू लैजाने प्रवृत्ति बढेकाले यस्ता सामग्रीहरू तीव्र रूपमा हराउँदै गएको बताएका छन्। यसले सङ्ग्रहालयका लागि आवश्यक सामग्री सङ्कलन गर्न झन् कठिन बनाउँदै लगेको उनको भनाइ छ। आगामी दिनमा अझ धेरै सामग्री संकलन गरी सङ्ग्रहालयलाई विस्तार गर्ने योजना रहेको उनले बताए।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका