ठेकेदारलाई रूखमा बाँधेर सडक चाँडो बन्दैन, कानुन सुधार गर्नुपर्छ : गगन थापा
पढ्न लाग्ने समय :
सलार्ही : नेपाली कांग्रेसका सभापति गगन थापाले निर्माण व्यवसायी-ठेकेदारलाई रूखमा बाँधेर सडक चाँडो नबन्ने बताएका छन्। सर्लाही–४ मा शनिवार बोल्दै उनले निर्माण व्यवसायीलाई रूखमा बाँधेर वा उल्टो झुण्ड्याएर सडक चाँडो नबन्ने बताएका हुन्। उनले बरू कानुनी सुधार गर्नुपर्ने बताएका छन्।
‘सुधारहरू गर्नुपर्छ भन्ने चिन्तन छाडेर म रूखमा लगेर बाँध्दिन्छु। काम गरेन भने उल्टो झुण्ड्याउँछु। हामीले अहिले सुनिरहेको भाषाहरू, अथवा सोचहरू। मैले हातमा भाटा लिएर गएर यो ठेकेदार÷ निर्माण व्यवसायी फटाहा हो, यो निर्माण व्यवसायीको पक्षमा बहस पैरवी गर्ने वकिल पनि फटाहा हो, पक्षमा फैसला ग¥यो भने न्यायाधीश पनि फटाहा हो। कानुन बनाउने सांसद पनि फटाहा हो। सबै फटाहा हो, सबै बदमास हो। त्यसैले ममात्रै असल हो, मेरो हातमा चाबुक छ, मैले सबैलाई तह लगाउँछु भन्ने चिन्तनले सुधार गर्छु भन्यो भने पनि दुर्घटना हुन्छ,’ उनले भने।
उनले सडक चाँडो निर्माण गर्न सुरूमा कानुन सुधार गर्नुपर्ने बताए। उनले ठेक्का प्रक्रियामा कम बोल लगाउने कम्पनीलाई ठेक्का दिने प्रावधानलाई संशोधन गरी गुणस्तरीय र चाँडो निर्माणको बाचा गर्ने कम्पनीलाई काम गर्न दिनुपर्ने बताएका हुन्।
‘म के निष्कर्षमा पुगेको छु भने कम्तीमा पनि ४१ वटा कानुनले अवरोध सिर्जना गर्दो रहेछ। सबैभन्दा पहिला सस्तोमा काम गर्नेले ठेक्का पाउने होइन कि गुणस्तरीय काम गर्छु र चाँडो सक्छु भन्नेले ठेक्का पाउने कानुन नबनाउन्जेलसम्म, जसले सस्तोमा ग¥यो त्यसले काम पाउने चाहे वडामा गरोस्, चाहे नगरमा गरोस्, चाहे ठूलो बाटोमा गरोस्, त्यो गर्ने बेलासम्म जति चटक गर्छु भनेर आयो भने पनि त्यो काम समयमा गर्न सक्दैन रहेछ,’ उनले भने।
उनले जलविद्युत आयोजनाका लागि लाइसेन्स लिनलाई झन्झटिलो प्रक्रियाबारे पनि उदाहरण दिए। ‘मैले अर्को के देखेर आएँ– जलविद्युतको आयोजना बनाउका लागि ऊर्जाको प्रवद्र्धकले लाइसेन्स लिएपछि २७ वटा ढोकामा जानुपर्ने रहेछ। २७ वटा ढोकामा गइसकेपछि उसले काम सुरू गर्ने बेलामा उसले कम्तीमा दुई वर्ष अतिरिक्त समय लाग्दो रहेछ। त्यो कानुनले २७ ठाउँ जानुपर्ने बन्द गरेर एक ठाउँ गए पुग्ने बनाउन सके पो कामको गतिमा अघि बढ्ला,’ उनले भने।