कैलालीको अत्तरियामा महायज्ञ सुरु
पढ्न लाग्ने समय :
अत्तरिया : कैलालीको अत्तरियामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।
महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा आजदेखी महायज्ञ सुरु भएको हो।
महायज्ञको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरे। उद्घाटन पश्चात् बोल्दै उनले सामाजिक कार्यका लागि गरिएको जमर्काे तारिफयोग्य रहेको बताए। उनले राज्यले गर्न नसकेको काम एउटा महिलाले गरिरहेको बताए। उनले यस्तो अवस्थामा सबैले साथ र सहयोग गर्नुपर्ने समेत बताए।
‘नेपाल सरकारले गर्नुपर्ने कार्य गर्न नसकेर जानकी जी ले गर्नुभएको छ, साना बालबालिका जसका आमा-बुवा छैनन् जो असहाय छन, ति बालबालिकालाई ल्याएर उहाँले पालिराख्नुभएको छ। पढाईराख्नुभएको छ, त्यो सानो काम होईन’ उनले भने ‘यस्ता कार्यहरूमा समाजका तर्फबाट पनि सहयोग हुनुपर्ने हुन्छ, यो कुरालाई हामीले हल्का रुपमा लिने हो भने संस्था अघि बढ्दैन । यसमा तपाई हामी सबैको सहयोगको खाँचो रहन्छ।’
उनले सेभ हाउसका लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको बताए। उनले सेभ हाउसका लागि छुट्याइएको बजेट बाहेक नगरपालिकाले महायज्ञका लागि २ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसबाहेक उनले सेभ हाउसले जग्गाको व्यवस्था गरे भवनको पैसाका लागि साथ दिने प्रतिबद्धता समेत व्यक्त गरे। उनले धार्मिक महायज्ञले धर्म कला र संस्कृतिको जर्गेनाका लागि पनि महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए।
महायज्ञ पूजा–पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिँगारिई महाआरती आयोजना हुने आयोजकले जनाएको छ। महायज्ञमा नेपालकै चर्चित कथा वाचीका पूज्या देवी सुमी मानवसहित उनको समूहले कथा प्रवचन गर्नेछन् । यस्तै, मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन् । महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाह लगायतका धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ।
कार्यक्रम सुरु हुनु पूर्व अत्तरियामा कलश यात्रा निकालिएको थियो। भव्य रूपमा आयोजना गरिएको कलश यात्रामा विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो।