कञ्चनपुरमा जलेकाे अवस्थामा पुरुषकाे शव फेला
पढ्न लाग्ने समय :
कञ्चनपुर: कञ्चनपुरमा जलेकाे अवस्थामा एक पुरुषकाे शव फेला परेकाे छ। जिल्लाकाे बेलडाँडी गाउँपालिका-३ का ५० वर्षीय हरिकिसन रानाकाे शव फेला परेकाे हाे।
मंगलबार बिहान कलकत्ता जान मोटरसाइकलमा निस्किएका उनी केही घण्टामै बेलौरी नगरपालिका–१०, शिवनगरस्थित मसानघाट नजिकै जलेको अवस्थामा मृत फेला परेका हुन। उनी सवार मोटरसाइकलसमेत पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकाे छ। यो घटना भयावह र रहस्यमय भएको बेलडाँडी-३ का वडा अध्यक्ष दुर्गाप्रसाद चाैधरीले बताए।
रानाका आफन्तले यो सामान्य दुर्घटना नभइ योजना अनुसार हत्या गरेर प्रमाण मेटाउने घृणित प्रयास भएको बताएका छन्। यो घटनालाई सामान्य दुर्घटना होइन, पहिले हत्या गरेर त्यसपछि प्रमाण नष्ट गर्न आगो लगाइएको भन्दै प्रहरीसमक्ष कडा माग गरेका छन्।
शरीरको जल्ने तरिका र मोटरसाइकलको अवस्था हेर्दा, हत्या गरिएको दाबीलाई बल मिलेको देखिन्छ।
घटनास्थलमा तालिम प्राप्त कुकुर लगिएको छ भने अनुसन्धानमा प्रदेश प्रहरी कार्यालय र अनुसन्धान टोली खटिएको छ। रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ।
यो निर्मम घटनाले स्थानीयमा त्रास फैलाएको छ। यस रहस्यमय घटनाले कञ्चनपुरमा शंकाको बादल मडारिएको छ। प्रहरी अनुसन्धानले थालेकाे बताएकाे छ।