आज साउन १५ : खीर खाने दिन

Friday July 31, 2026

पढ्न लाग्ने समय :


आज साउन १५ गते देशभर परम्पराअनुसार खीर खाएर मनाइँदै छ। वर्षायाममा पर्ने साउन १५ मा खीर खाने नेपाली समाजको प्राचीन सांस्कृतिक परम्परा हो। असार १५ मा दही–च्यूरा खाने र साउन १५ मा खीर खाने चलन पुस्तौंदेखि निरन्तर रहँदै आएको छ।

धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार साउने झरीका बेला तातो खीर स्वास्थ्यका लागि लाभदायक हुने विश्वास गरिन्छ। दूध, चामल, चिनी, घिउ, सुकमेल, इलाइची तथा अन्य मरमसलासहित तयार गरिने खीर पौष्टिक र सात्विक आहारका रूपमा समेत परिचित छ।

धर्मशास्त्रविद्का अनुसार संस्कृतमा ‘पायस’ भनिने खीर वैदिक परम्परामा देवकार्य र पितृकार्यका लागि उत्तम खाद्य मानिन्छ। श्राद्धलगायत धार्मिक अनुष्ठानमा ब्राह्मणलाई खीर खुवाउने र देवतामा चढाएर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा आज पनि कायम छ।

साउन महिना भगवान् शिवको प्रिय महिना मानिन्छ। शिवलाई दूध तथा दूधबाट बनेका परिकार प्रिय हुने धार्मिक विश्वासका कारण भक्तजनले खीरलगायतका मिठा परिकार पूजा–आराधनामा अर्पण गर्ने चलन छ।

ग्रामीण क्षेत्रमा साउनसम्म खेतीपातीको मुख्य काम सकिने, हरियाली बढ्ने र गाईभैँसीले पर्याप्त दूध दिने भएकाले यही समयमा इष्टमित्र, आफन्त तथा चेलीबेटीलाई घरमा निम्त्याएर खीर खुवाउने सामाजिक परम्परा विकास भएको मानिन्छ।

नेपाली समाजमा चामलको खीर सबैभन्दा लोकप्रिय भए पनि साबुदाना, सेवई, मकै, गाजरलगायत विभिन्न सामग्रीबाट पनि खीर बनाउने चलन छ। विशेषगरी साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर पनि रुचिपूर्वक खाने गरिन्छ।

नेपाली बृहत् शब्दकोशले खीरलाई ‘दूधमा पकाइएको भात वा चामल, चिनी र मसला मिसाएर बनाइने स्वादिष्ट खाद्य पदार्थ’ अर्थात् ‘पायस’का रूपमा परिभाषित गरेको छ।

नेपाली समाजमा ऋतु र महिनाअनुसार विशेष परिकार खाने परम्परा पनि रहिआएको छ। असार १५ मा दही–च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे तथा माघ १५ मा मालपुवा बनाएर आफन्त र छोरीचेलीलाई निम्त्याई सँगै खाने सांस्कृतिक परम्परा आज पनि जीवित छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।