आजदेखि एसईई परीक्षा

Thursday April 2, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सुरु हुँदै छ । उत्तरपुस्तिका परीक्षणसमेत बिहीबारै सुरु गरिँदै छ । वैशाख मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने तयारी छ । यस पटक ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले एसईई दिँदै छन् ।
२ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी रहेको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । जापानको एभरेस्ट स्कुलबाट २३ विद्यार्थीले परीक्षा लेख्दै छन् ।
उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गराउने कि इकाइमा ल्याएर परीक्षण गर्ने भन्नेमा निर्णय गर्ने अधिकार सम्बन्धित इकाइलाई नै दिइएको छ ।केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक अधिकारीले बताए । उनका अनुसार उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिने भएको छ । उत्तरपुस्तिका परीक्षण बिहीबारै सुरु हुनेछ । परीक्षा सकिएको विषयको उत्तरपुस्तिका तीन दिनभित्र परीक्षा केन्द्रमा नै परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको शिक्षा सचिव चूडामणि पौडेलले जानकारी दिए ।
‘परीक्षा केन्द्रमा परीक्षण गर्न नसक्ने अवस्था आए परीक्षा सकिएकै दिन उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा ल्याएर परीक्षण गराउन सकिन्छ,’ उनले भने । उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गराउने कि इकाइमा ल्याएर परीक्षण गर्ने भन्नेमा निर्णय गर्ने अधिकार सम्बन्धित इकाइलाई नै दिइएको छ ।
बोर्डका उपाध्यक्षसमेत रहेका शिक्षा सचिव पौडेलका अनुसार तोकिएको समयभित्रै उत्तरपुस्तिका परीक्षण सकेर प्राप्तांक बोर्डमा पठाउनुपर्छ । त्यसपछि विद्यार्थीको प्राप्तांक चढाएर रुजु गरेपछि नतिजा प्रकाशन गरिनेछ । ‘नतिजा एक महिनाभित्र सार्वजनिक गर्ने निर्णय भएको छ,’ पौडेलले भने, ‘त्यहीअनुसार वैशाख मसान्तसम्म एसईईको नतिजा प्रकाशन हुनेछ ।’
यसअघि उत्तरपुस्तिका इकाइले केन्द्रबाट संकलन गरी अन्तरजिल्ला र प्रदेशमा परीक्षण गर्ने व्यवस्था मिलाइन्थ्यो । कुन परीक्षा केन्द्रको उत्तरपुस्तिका कहाँ परीक्षण हुने भन्ने खुल्दैनथ्यो । तर त्यसरी परीक्षण गर्दा नतिजा प्रकाशन गर्न साढे दुई महिनाभन्दा बढी समय लाग्ने गरेको थियो । तर यस पटक शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रै नतिजा प्रकाशन गर्न निर्देशन दिएपछि बोर्डले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाएको हो ।
अपांगता भएका, सुत्केरी र किरियापुत्री परीक्षार्थीका लागि केन्द्राध्यक्षले सहजीकरण गर्न सक्ने व्यवस्था मिलाइएको छ । एसईई २९ चैतमा सकिनेछ । गत ७ माघमा सार्वजनिक गरिएको तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, २४ चैतमा सामाजिक अध्ययन, २५ चैतमा ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ चैतमा ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा हुने तालिका छ । २७, २८ र २९ चैतमा प्राविधिक धारका बाँकी विषयको परीक्षा हुनेछ ।


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’