सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय
पढ्न लाग्ने समय :
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका भट्टको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभर डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशका विभिन्न अस्पतालमा थप डायलाइसिस शय्या विस्तार गरिने भएको हो । निर्णयअनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या थप गरिनेछ ।
त्यस्तै, लम्कीचुहा अस्पतालमा पाँच शय्या तथा बयलपाटा र जोगबुडा प्रादेशिक अस्पतालसहित प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शय्या विस्तार गर्ने निर्णय गरिएको छ ।
प्रदेश सरकारले डायलाइसिस सेवा विस्तार गरेसँगै मिर्गौला रोगी तथा नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले सेवा विस्तारको निर्णय गरिएको मुख्यमन्त्री भट्टले बताएका छन् ।
पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ ।
शुक्रबार मुख्यमन्त्री भट्टसँगै नेकपा एमालेबाट सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका थिए । साथै, एक राज्यमन्त्रीले पनि शपथ लिएका थिए ।
पदभार ग्रहण गर्दै मुख्यमन्त्री तथा मन्त्रीहरूले नागरिकमैत्री र प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले संघीयताको मर्मअनुसार प्रदेश संरचनालाई प्रभावकारी बनाउँदै सुशासन, पारदर्शिता र नागरिकको सहज पहुँचमा केन्द्रित भएर काम गर्ने बताएका छन् ।
नयाँ सरकारको पहिलो निर्णयमै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै डायलाइसिस सेवा विस्तार गर्ने निर्णय भएपछि सुदूरपश्चिमका मिर्गौला रोगीका लागि उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ ।