चलेका उद्योग बन्द हुने अवस्था आउनुको कारण खोज्न सरकारलाई कुलमान घिसिङको आग्रह

Wednesday August 12, 2026

पढ्न लाग्ने समय :


उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सञ्चालनमा रहेका उद्योग बन्द हुने अवस्थामा पुग्नुको कारण खोजी गर्न सरकारलाई आग्रह गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारले बन्द उद्योग खोल्ने प्रयास गरिरहँदा सञ्चालनमा रहेका हेटौंडा र उदयपुर सिमेन्ट उद्योगसमेत बन्द हुने अवस्थामा पुग्नुको कारण पहिचान गर्नुपर्ने बताएका हुन्।

उनले निजी क्षेत्रले खानी खरिद गरी अर्बौं रुपैयाँ लगानी गरेर स्थापना गरेका सिमेन्ट उद्योग नाफामा सञ्चालन भइरहेका बेला राम्रो चुनढुंगा खानी तथा ठूलो पूर्वाधार रहेको सरकारी उद्योग घाटामा गएर बन्द हुने अवस्था आउनु गम्भीर विषय भएको बताएका छन्।

“निजी लगानीकर्ताले खानी किनेर अर्बौं लगानी गरेर स्थापना गरेको सिमेन्ट उद्योग नाफामा चल्छ तर सबैभन्दा राम्रो चुनढुंगा खानी भएको र विदेशीले लगानी गरेर ठूलो संरचना बनाई दिएको उद्योग घाटामा गएर किन बन्द हुने अवस्थामा पुग्छ?” घिसिङले प्रश्न गरेका छन्।

घिसिङले पाँच वर्षअघि प्रसारण लाइनको सुविधा नभएको अवस्थामा समेत ह्वाङ्सी सिमेन्टले डिजेल जेनेरेटर प्रयोग गरेर उद्योग सञ्चालन गर्दै नेपाली उपभोक्तालाई सस्तो मूल्यमा सिमेन्ट उपलब्ध गराएको उदाहरणसमेत प्रस्तुत गरेका छन्।

उनले सरकारी संस्था सधैँ घाटामा चल्छ भन्ने मान्यता गलत भएको भन्दै नेपाल विद्युत् प्राधिकरणले त्यसलाई प्रमाणित गरिसकेको दाबी गरेका छन्।

“स्थापनादेखि अधिकांश समय घाटामा रहेको प्राधिकरण विगत १० वर्षदेखि लगातार अर्बौंको नाफामा छ। यस अवधिमा विद्युत् महसुल करिब २५ प्रतिशतले घटाएर पनि नाफा कमाउन सक्दो रहेछ,” उनले भनेका छन्।

घिसिङले कुनै पनि संस्थाको सफलता वा असफलतामा नेतृत्व र व्यवस्थापनको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

उनका अनुसार सरकारले बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रयास मात्र नगरी त्यसलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक छ। साथै, अहिले सञ्चालनमा रहेका उद्योगलाई बन्द हुनबाट जोगाउँदै नाफामूलक बनाउनेतर्फ पनि सरकारले स्पष्ट नीति र योजना बनाउनुपर्ने उनको भनाइ छ।

“सरकारले बन्द उद्योगलाई खोल्ने मात्र होइन, यसलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउने र चलेका उद्योगलाई बन्द हुनबाट रोक्दै नाफामा लैजानेतर्फ सोच्न जरूरी छ,” घिसिङले बताएका छन्।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।