बिरामीको चाप बढेपछि महाकाली अस्पतालमा राति पनि डायलिसिस सेवा सञ्चालनको तयारी

Wednesday August 12, 2026

पढ्न लाग्ने समय :


मिर्गौला रोगीको चाप बढ्दै गएपछि कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले रातिको समयमा समेत डायलिसिस सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

हाल अस्पतालमा बिहान र बेलुकी गरी दुई सिफ्टमा मात्रै डायलिसिस सेवा सञ्चालन हुँदै आएको छ। बिरामीको संख्या बढ्दै गएपछि तेस्रो अर्थात् रातिको सिफ्टसमेत सञ्चालन गर्ने तयारी अघि बढाइएको अस्पतालले जनाएको छ।

महाकाली प्रादेशिक अस्पतालका प्रवक्ता डा. अर्जुन भट्टका अनुसार अस्पतालमा डायलिसिसका लागि १० वटा शय्या रहेका छन्। ती शय्यामार्फत दैनिक १८ देखि १९ जना बिरामीलाई सेवा दिनुपर्ने अवस्था रहेको छ।

“१० वटा बेड छन्, दैनिक १८ देखि १९ जनालाई डायलिसिस सेवा दिनुपर्ने अवस्था छ,” डा. भट्टले भने, “जनशक्ति लगायतका विषयमा संरचना विस्तारका लागि माथिल्लो निकायसँग छलफल भइरहेको छ।”

उनका अनुसार दैनिक २० देखि २५ जना बिरामी डायलिसिस सेवाका लागि अस्पताल आउने गरेका छन्। तर शय्या, मेसिन र आवश्यक जनशक्तिको अभावका कारण सबै बिरामीलाई सहज रूपमा सेवा दिन चुनौती भइरहेको छ।

डायलिसिस सेवामा कार्यरत तथा सम्पर्क व्यक्ति यशोदा गिरीले बिरामीको चापलाई मध्यनजर गर्दै दैनिक तीन सिफ्टमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताइन्।

“अहिले बिहान र बेलुकी गरी दुई सिफ्टमा डायलिसिस सेवा दिइरहेका छौँ,” उनले भनिन्, “रातिको समयमा पनि सेवा दिने गरी जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको काम अघि बढेको छ।”

अस्पतालमा समयमा डायलिसिस सेवा पाउन नसक्ने बिरामी धनगढीलगायत अन्य स्थानमा जानुपर्ने बाध्यता रहेको गिरीले बताइन्।

जनशक्तिको अभाव मुख्य समस्या

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य इन्द्र साउदका अनुसार कोरोना महामारीका बेला प्रयोगमा ल्याइएको ल्याबको भवनबाट अहिले डायलिसिस सेवा सञ्चालन भइरहेको छ।

उनले आवश्यक जनशक्ति अभावका कारण रातिको सिफ्ट सञ्चालन गर्न समस्या भइरहेको बताए।

“डायलाइसिसका लागि जनशक्तिको निकै अभाव छ,” साउदले भने, “रातिको सिफ्ट सञ्चालन गर्न प्रदेश र सङ्घीय सरकारसँग आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिरहेका छौँ।”

अस्पतालमा डायलिसिस सेवा लिन आउने बिरामीको चाप पछिल्लो समय अत्यधिक बढेको उनले बताए।

अस्पताल प्रशासनले बिरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न थप शय्या, डायलिसिस मेसिन र दक्ष जनशक्तिको आवश्यकता रहेको जनाएको छ। रातिको सिफ्ट सञ्चालनमा आएपछि उपचारका लागि बाहिर जानुपर्ने बिरामीको संख्या घट्ने अपेक्षा गरिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।