बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

Monday August 10, 2026

पढ्न लाग्ने समय :


सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा पूजा सुरु हुने भएको छ।

बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायका अनुसार मुख्य पूजा भदौ ११ गते हुने भए पनि एकै दिन अत्यधिक भीड हुने भएकाले दर्शनार्थीलाई सहज बनाउन भदौ १ गतेदेखि नै पूजा सुरु गर्न लागिएको हो।

बडीमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मुख्य पूजा गर्ने परम्परा छ। मुख्य पूजाका अतिरिक्त अन्य समयमा पनि तीर्थालु तथा पर्यटक बडीमालिका पुग्ने गरेका छन्।

गत वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले बडीमालिका मन्दिरको दर्शन गरेका थिए। यस वर्ष पनि देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत ठूलो संख्यामा दर्शनार्थी आउने अपेक्षा गरिएको छ। बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली बडीमालिका जाने परम्परासमेत रहेको छ।

नेटवर्क सुधारका लागि टेलिकम टावर निर्माण

बडीमालिका क्षेत्रमा दर्शनार्थी तथा पर्यटकलाई सञ्चारमा सहजता प्रदान गर्न यस वर्षको मेला अगावै टेलिकम टावर निर्माणको काम भइरहेको छ।

बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काका अनुसार क्षेत्रमा देखिँदै आएको फोन नेटवर्कको समस्या समाधान गर्न टावर राख्ने काम भइरहेको हो। निरन्तर वर्षा भइरहेकाले निर्माणमा केही समस्या भए पनि काम जारी रहेको उनले बताए।

नगरपालिकाका अनुसार यस वर्ष पनि करिब ४५ हजार भक्तजन बडीमालिका पुग्ने अनुमान गरिएको छ।

नयाँ मन्दिरले थप्यो आकर्षण

बडीमालिकाको धार्मिक तथा पर्यटकीय महत्वबारे पछिल्लो समय प्रचारप्रसार बढेसँगै यहाँ पुग्ने पर्यटकको संख्या पनि बढ्दै गएको स्थानीय बताउँछन्।

नेपाली सेनाले करिब दुई करोड रुपैयाँको लागतमा प्यागोडा शैलीमा निर्माण गरेको नयाँ बडीमालिका मन्दिरले समेत क्षेत्रको आकर्षण थप बढाएको छ।

समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका लागि समेत प्रसिद्ध छ। यहाँका त्रिवेणी, २२ पाटन, खेतीबेती, विष्णुपानी र धर्मद्वार प्रमुख आकर्षणका रूपमा रहेका छन्।

हराभरा पाटन, हिमालका मनोरम दृश्य तथा डाँफे, मुनाल, कस्तुरीलगायत दुर्लभ वन्यजन्तुका कारण बडीमालिका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।

दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास

धार्मिक विश्वासअनुसार बडीमालिका माताको दर्शन गरेमा मनोकामना पूरा हुने, रोग निको हुने तथा पुत्र प्राप्ति हुने जनविश्वास रहँदै आएको छ।

मेला तथा पूजालाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न तयारीसमेत भइरहेको छ। दर्शनार्थी तथा पर्यटकलाई लक्षित गरी नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र उच्च हिमाली भूगोलको अद्वितीय संयोजनका कारण बडीमालिका क्षेत्र पछिल्लो समय तीर्थयात्रा र पर्यटन दुवैका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।