गोठाटारमा भीषण आगलागी : १४ वटा पसल जले, एक जना घाइते
पढ्न लाग्ने समय :
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। आगलागीमा एक जना घाइते भएका छन् भने ठूलो धनमालको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार राति करिब ९ः१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदामबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। झन्डै दुई घण्टाको प्रयासपछि राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीबाट ओम काष्ठ मिल उद्योग, रिकन्डिसन तथा हेल्मेट पसल, बासु फर्निचर, घिसिङ अटो रिकन्डिसन, रङ पसल, प्रेम गौतम रिकन्डिसन, मोबाइल पसल, मिठाइ पसल, हार्डवेयर पसल, चिया पसल, हिमेश गौतमको फर्निचर पसल, चटपटे तथा किराना पसल, कस्मेटिक पसल र स्टेशनरी पसलमा क्षति पुगेको छ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाको कमाण्डमा १०० जना, विपद् व्यवस्थापन शाखा सामाखुसीबाट प्रहरी निरीक्षक हिरा थापा मगरको कमाण्डमा २५ जना तथा नेपाल सशस्त्र प्रहरी बलको सिनामंगल गणबाट सहायक प्रहरी निरीक्षक हेराम कुँवरको कमाण्डमा ५० जना गरी जम्मा १७५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसका साथै ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार निवासी ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। उनको प्रारम्भिक उपचार नगर अस्पताल, मुलपानीमा गरिएको थियो। त्यसपछि थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।