धनगढीमा ‘सुदूरपश्चिम गाइजात्रा सिजन–२’ आयोजना हुने
पढ्न लाग्ने समय :
धनगढी, साउन १२ — नेपाली मौलिक कला, संस्कृति र गाइजात्रा परम्पराको संरक्षण तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले धनगढीमा ‘सुदूरपश्चिम गाइजात्रा सिजन–२’ आयोजना हुने भएको छ।
बैजनाथ सञ्चार प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिएको हो। आगामी भदौ १७ गते धनगढीस्थित एस.टी.एस। सिनेमा हलमा आयोजना हुने कार्यक्रमले हास्य–व्यंग्यमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य लिएको कार्यक्रम संयोजक सरस्वती कुमारी खड्का भट्ट ले जानकारी दिनु भयो ।
भट्टका अनुसार पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणलाई अझ व्यवस्थित, सिर्जनात्मक र प्रभावकारी बनाइनेछ। कार्यक्रममा नेपालका वरिष्ठ हास्य–व्यंग्य कलाकारसँगै सुदूरपश्चिमका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। साथै हास्य–व्यंग्य नाटक, कविता, गीत–संगीत, देउडा तथा सुदूरपश्चिमका मौलिक लोक–सांस्कृतिक प्रस्तुतिहरू समेत समावेश गरिनेछ।
कार्यक्रमको मुख्य उद्देश्य नेपाली समाजको मौलिक गाइजात्रा परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्नुका साथै सामाजिक, राजनीतिक तथा समसामयिक विषयमा जनचेतना फैलाउनु रहेको जनाइएको छ। लागूऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन लगायतका विषयलाई हास्य–व्यंग्यको माध्यमबाट उठान गरिने कार्यक्रम संयोजक भट्टले बताउनु भयो ।
बैजनाथ सञ्चार प्रालिले सुदूरपश्चिमका कलाकार, स्रष्टा र प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गराउने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।