अघोषित विद्युत् कटौतीले व्यवसायी मर्कामा
पढ्न लाग्ने समय :
कञ्चनपुर : कञ्चनपुरमा अघोषित रूपमा विद्युत् कटौतीले साना तथा मझौला व्यवसायी, कृषक तथा सर्वसाधारण मर्कामा परेका छन् ।
अघोषित विद्युत् कटौतीले व्यवसायमा घाटा सहनुपर्ने बाध्यता रहेको यहाँको शुक्लाफाँटा नगरपालिका–१०, प्रगतिटोलस्थित कौशल कञ्चन मिनिरलका सञ्चालक गोकर्ण पन्तले गुनासो गरे । एक महिनाको अन्तरमा रात दिन बिजुली आउने जाने समस्याले फिल्टर मोटर चलाउनै मुस्किल भएको उनले बताए । विद्युत् समस्याका कारण पानी उत्पादन नहुँदा आवश्यकता अनुसार, पानी आपूर्ति गर्न नसकिएको उनले बताए । अर्कोतिर कम पावरको विद्युत्का कारण फिल्टर मेसिन चलाउन समस्या हुने गरेको उनले गुनासो गरे।
अघोषित रूपमा विद्युत् कटौती गरिँदा यहाँका व्यवसायी व्यवसाय गर्न मुस्किल भएको गुनासो गर्न थालेका छन् । वेदकोट नगरपालिका–७ स्थित गोदावरी मिलका सञ्चालक अमित गुप्ताले विद्युत् समस्याका कारण मिल सञ्चालन गर्न समस्या भएको बताए । विद्युत्का कारण गत साता मोटरमा २० हजार रुपियाँ खर्च गरेर मर्मत गर्नु परेको भन्दै उनले आर्थिक रूपमा नोक्सानी बेहोर्नु परेको बताए ।
विद्युत् समस्याकै कारण मिलमा कर्मचारी घटाउनुपर्ने अवस्था आएको समेत उनले बताए । हाल ज्यालादारीमा कर्मचारी राखेर दैनिक रूपमा विद्युत् कटौती नभएको बेला मिल सञ्चालन गरिरहेको उनको भनाइ छ।
विद्युत् कटौती गर्नुपरे पूर्वजानकारी गराएर तालिका अनुसार कटौती गर्न व्यवासायीको माग छ । विद्युत् कटौतीले व्यवसायीलाई मात्रै होइन कृषकलाई समेत उत्तिकै मर्का परेको छ । अहिले धान रोप्ने सिजनमा विद्युत् नियमित नहुँदा सिँचाइ गर्न सकिएको गुनासो कृषकको छ ।
लालझाडी गाउँपालिका–४ का कृषक रमेश रानाले मोटरको पानीले धान रोपाइँ गरे पनि छिन छिनमा विद्युत् अवरुद्ध हुँदा मोटर नै खराब हुन गएर धान सुक्न थालेको गुनासो गरे । कृषकसहित स्थानीयले पछिल्लो समय अघोषित रूपमा विद्युत् कटौती तथा कम पावरको विद्युत्का कारण पङ्खा, मोटरमा धमाधम खराबी आउन थालेको गुनासो गरेका छन् ।
कञ्चनपुरमा अनियमित रूपमा विद्युत् कटौती गर्दै आएको नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले भने अत्यधिक गर्मीका कारण माग बढेपछि संरचनाले धान्न नसक्दा विद्युत् अवरुद्ध हुने समस्या बढेको बताए । महेन्द्रनगर वितरणका प्रमुख सन्तोष श्रेष्ठले विभिन्न ठाउँमा आएको खराबीले पनि विद्युत् नियमित दिन नसकिएको बताए । मर्मतको काम चलिरहेकाले अबको केही दिनभित्रै नियमित रूपमा विद्युत् सुचारु हुने उनले बताए । गोरखापत्र