कैलालीको घोडाघोडीमा १५ शय्याको नगर अस्पताल अलपत्र
पढ्न लाग्ने समय :
धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत नगर अस्पतालको काम अपूरै रहेको छ । सङ्घीय सरकारले स्थानीय तहमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभर एकै पटक ३९६ आधारभूत अस्पतालको शिलान्यास गरेको थियो ।
त्यसै अन्तर्गत घोडाघोडी नगरपालिका–२, साडेपानीमा नगर अस्पताल निर्माण गर्ने योजना अघि बढेको थियो । अस्पताल अहिले एक तला भवन बनाएर अलपत्र छोडिएको छ । शिलान्यास भएको झन्डै छ वर्ष र ठेक्का सम्झौता भएको पाँच वर्ष पुग्न लाग्दा पनि अस्पताल भवन निर्माण अधुरै छ ।
नगरपालिकाले अस्पतालको भवन निर्माणका लागि २०७८ वैशाख २९ गते तत्कालीन राजेन्द्र निर्माण सेवा प्रालिसँग नौ करोड ८६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । ठेकेदारले अहिले नाम नै परिर्वतन गरेर वराह डेभलपर्स राखेको छ तर काम अगाडि बढ्न सकेको छैन । पटक पटक म्याद थप गरिए पनि ठेकेदारको बदमासीले कामले गति लिन सकेको छैन । अस्पताल निर्माणका लागि १८ करोड रुपियाँ लागत अनुमान गरिएको छ । दुई वटा भवन निर्माण गर्ने योजना भए पनि पहिलो भवनको काम नै अधुरो रहेकाले दोस्रो भवन निर्माणको प्रक्रियासमेत अघि बढ्न सकेको छैन ।
ठेकेदारसँग पटक पटक समन्वय र सम्पर्कको प्रयास गर्दा पनि ठेकेदार सम्पर्कमा नआएको घोडाघोडी नगरपालिकाका प्रमुख खड्कबहादुर रावतले बताए । सुरुमा निर्माण स्थलको जग्गा भोगाधिकारसम्बन्धी केही समस्या थियो । सो समस्या समाधान भइसकेपछि पनि ठेकेदारले काम नगरेको उनले बताए। ठेकेदारले हालसम्म एक करोड ५३ लाख २९ हजार तीन सय रुपियाँ भुक्तानी लिइसकेको छ । रकम लिने तर काम नगर्ने ठेकेदारका कारण हालसम्म भौतिक प्रगति १५ प्रतिशत मात्रै भएको छ । पेस्की रकम अनुसारको कामसमेत नभएको नगरपालिकाका इन्जिनियरको इन्जिनियर किशोर भट्टले बताए ।
ठेकेदारलाई जिम्मेवार बनाउन सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने स्थानीय दीपक शाहले बताए । ठेकेदारको बदमासी तथा लापर्बाही र सम्बन्धित निकायको गैरजिम्मेवारीले अस्पताल निर्माणमा ढिलाइ भएको उनले आरोप लगाए। तोकिएको समयमा अस्पताल निर्माणको काम पूरा नहुँदा स्थानीय बासिन्दा गुणस्तरीय स्वास्थ्य सेवा पाउन नसकेको स्थानीय राजु अवस्थीले बताए।