राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि निर्विरोध निर्वाचित
पढ्न लाग्ने समय :
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत आज मतदान प्रक्रिया शुरू हुँदैछ । पार्टीको सर्वोच्च पद सभापतिमा संस्थापक सभापति रवि लामिछाने निर्विरोध निर्वाचित भैसकेका छन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदका लागि लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । लामिछानेलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले राखेका थिए । २०७९ साल असार ७ गते घोषणा भएको रास्वपाले स्थापनाको चार वर्ष पुग्नै लाग्दा यो ऐतिहासिक पहिलो महाधिवेशन गरिरहेको हो ।
प्रतिनिधि छनोटमा देखिएको केही विवादका कारण सोमबारका लागि तय भएको बन्दसत्र केही ढिला गरी मंगलबार दिउँसो सवा ३ बजे मात्र शुरू भएको थियो । बन्दसत्रमा पार्टीका शीर्ष नेताहरूले विभिन्न महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गरेका थिए ।
महाधिवेशनको बन्दसत्रबाट पारित परिमार्जित विधानअनुसार अब रास्वपाको केन्द्रीय समिति कुल १५८ सदस्यीय हुनेछ । जसमध्ये ९९ जना केन्द्रीय सदस्यहरू महाधिवेशनको निर्वाचन प्रक्रियाबाट प्रत्यक्ष निर्वाचित भएर आउनेछन् भने बाँकी सदस्यहरू मनोनीत हुने व्यवस्था गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले तेस्रो पटक संशोधन गरेर जारी गरेको कार्यतालिका अनुसार मंगलबार रातभरिमा सम्पूर्ण कानुनी र प्राविधिक प्रक्रियाहरू पूरा गरिएको छ । मंगलबार साँझ ७ः३० देखि ९ः३० बजेसम्म फारम वितरण र दर्ता गरिएको थियो । त्यसपछि राति उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन, दाबी–विरोध, जाँचबुझ र उम्मेदवारी फिर्ताको समय तोकिएको थियो । राति ११ः४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै मौन अवधि सुरु भएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार बुधबार बिहान ८ बजेदेखि मतदान शुरू गर्ने तयारी गरिएको छ । महाधिवेशनमा सहभागी ४ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान गर्ने भएकाले मतदान सम्पन्न हुन करिब आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।
मतदान कार्य सम्पन्न भएको दुई घण्टापछि पहिलो चरणको मतगणना शुरू गरिनेछ र परिणाम घोषणा गरिनेछ । पहिलो चरणबाट ९९ सदस्यीय केन्द्रीय सदस्यहरूको टुङ्गो लागेपछि दोस्रो चरणमा पदाधिकारीहरूको चयनका लागि चुनाव हुनेछ ।
पदाधिकारी निर्वाचनका लागि आयोगले छुट्टै नयाँ कार्यतालिका सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त भुवन केसीले जानकारी दिए ।